अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ । यस्तो अवस्था आएको लामो समय भयो । तर, लगानी हुन सकेको छैन । यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ । चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो ।
पछिल्लो समय कर्जा प्रवाह हुन नसक्दा बैंकिङ प्रणालीमा निरन्तर पैसा थुप्रिएको छ । बैंकमा नयाँ कर्जाको माग नै नभएपछि लगानीयोग्य पुँजी पर्याप्त देखिएको हो । यसैकारण केन्द्रीय बैंकले पुस महिना सुरु भएयता निक्षेप संकलन उपकरणबाट १ खर्ब ८० अर्ब रुपैयाँ पैसा तानेको (प्रशोचन गरेको) छ ।
यो पुसको १९ दिनभित्र ९ पटक बोलकबोलमार्फत रकम तानेको हो । जस्मा केन्द्रीय बैंकले पुस १९ गते मात्रै २१ दिने निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ, पुस १८ गते दुईहप्ते निक्षेप संकलनमार्फत २५ अर्ब रुपैयाँ तान्यो । यता राष्ट्र बैंकले निक्षेप संकलन गरेर अन्तरबैंक ब्याजदरलाई सीमाभित्र राख्न प्रयास गरिरहेको बताएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार ब्याजदर करिडोरको अवधारणाअन्तर्गत अन्तरबैंक ब्याजदरको सीमा ३ प्रतिशतभन्दा तल जान नदिने भनेर तोकेको थियो । तर, लामो समयदेखि एउटा बैंकले अर्को बैंकसँग कर्जा लिने अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदै आयो । यसैले केन्द्रीय बैंक यसमा बढी सतर्क हुन खोजेको छ ।
‘अन्तरबैंक ब्याजदर सीमाभन्दा तल गएकाले निक्षेप संकलनको बोलकबोलमार्फत बैंकिङ प्रणालीबाट पैसा तानेको हो । यसैले पुस १८ र १९ गते अन्तरबैंक ब्याजदर ३ प्रतिशत माथि आएको छ,’ प्रवक्ता डा. भट्टले भने, ‘बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएर तानिएको हो । बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर) ४ प्रतिशतबाहेकको अधिक तरलताको रकम करिब एक खर्ब रुपैयाँ छ ।’
यतिबेला तरलता बढिरहनुको कारण गत वर्षको तुलनामा आयात पनि घटेको छ । अन्य क्षेत्रमा पनि कर्जाको माग त्यति नहुँदा यस्तो अवस्था आएको डा. भट्टको ठहर छ । अहिले समग्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूसँग ४ खर्ब ३३ अर्ब हाराहारी रुपैयाँ कर्जा प्रवाह गर्ने क्षमता छ । यो पुस १८ गतेसम्म बैंकहरूसँग भएको क्षमता हो ।
यतिबेला (पुस १८ गतेसम्म) बैंकहरूको लगानीयोग्य क्षमता (तरलता) खुकुलो अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतमा सीमित छ । नीतिगत व्यवस्थाअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न पाउँछन् । यो भनेको बैंकले एक सय रुपैयाँको निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा प्रवाह गर्न पाउनु हो । तर, यस अनुसार अहिले बैंकहरूसँग पर्याप्त क्षमता अर्थात् १० प्रतिशतको कुशन छ ।
यसरी अधिक रकम भएकै कारण एक बैंकले अर्को बैंकसँग लिने अन्तरबैंकको ब्याजदर पनि ३ प्रतिशतबाट झरेर न्यून भएको हो । जबकि कुनैबेला तरलता कम हुँदा (गत आवको माघ फागुन, चैत्र, वैशाखतिर) अन्तरबैंक ब्याजदर ७–८ प्रतिशतसम्म पुगेको थियो । यता बैंकिङ प्रणालीमा निक्षेप संकलन पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।
यसमध्ये बढी हिस्सा ओगट्ने वाणिज्य बैंकको मात्रै ५३ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको छ । यसबाहेक विकास र वित्त कम्पनीहरूले ६ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वार्षिक करिब ५ खर्ब रुपैयाँ हाराहारीमा निक्षेप वृद्धि भइरहेको छ । तर, जसरी निक्षेप बढेको छ कर्जा प्रवाह गर्ने क्षमता हुँदा पनि थप ऋण बढेको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं