सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

रोजगार खोज्दा गोली उपहार, बालकुमारीमै ढल्यो सपना

सुजन-वीरेन्द्रको मृत्युले सबैभन्दा ठूलो चोट शासकलाई लाग्नुपर्ने हो । तर, १० लाखले सबै छोप्ने प्रयास गरियो । के १० लाखले आमाको ममता भरपाई हुन्छ ? भाइको भरोस फर्कन्छ ? ‘बा’को झल्को मेटिन्छ ?

युवालाई राष्ट्रको खम्बा, भाग्य निर्माता र भविष्यको आशाको पुञ्जको रुपमा लिइन्छ । त्यसैले त भनिन्छ, युवा देशको कर्णधार हुन् । खम्बा बलियो हुँदा सम्पूर्ण संरचना बलिया हुन्छन् । युवा शक्तिशाली, गतिशील र सिर्जनशील भए देश बलियो हुन्छ । देशको भविष्य उज्ज्वल बन्छ । तर, नेपालमा युवा देशको कर्णधार होइन, बोझ भएको छ ।

देशमा बेरोजगारी समस्या व्याप्त छ । कामको खोजीमा युवा भौतारिरहेका छन् । बेरोजगारी समस्याले पिरोलिएका छन् । विदेश पलायन हुन तँछाडमछाड भइरहेका छन् । विदेश जानकै लागि युवा मारिनुपर्ने स्थिति आएको छ । गत १३ गते ललितपुरको बालकुमारीमा दुई बेरोजगारी युवा मारिए । जो, विदेश जाने तयारीमा थिए ।

केही समयअघि दक्षिण कोरियामा ‘शीप बिल्डिङ’ बनाउने कामको लागि भाषा परीक्षा लिइएको थियो । कोटा थोरै थियो । परीक्षार्थी धेरै थिए । र, धेरै फेल भए । ईपीएस शाखाले अनुत्तीर्ण आवेदकहरू उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका भाषा परीक्षा रोक लगायो । तीमध्ये १८ जनाले उक्त निर्णयलाई अदालतमा चुनौती दिए ।

पाटन उच्च अदालतको आदेशपछि ईपीएस शाखाले अदालतमा मुद्दा दायर गर्ने आवेदकलाई मात्र परीक्षामा सहभागी गराउने निर्णय गर्यो । त्यसपछि विवाद चर्कियो । विवाद यतिसम्म चर्कियो कि दुई युवाले त प्राण नै त्याग्नुपर्यो । कोरिया जानको लागि भाषा परीक्षामा सहभागी हुन माग गर्दै आन्दोलनमा उत्रिएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह मारिए ।

मन्त्रीको गाडीमा आगो दन्कियो । उनीहरूको कोरियाको सपना त्यही जल्यो । बाध्यत्मक सपना हो, विदेश जाने । सुजन र वीरेन्द्रको त्यही सपना काल बन्यो । सुजनको बुबा भक्तबहादुर राउतको गत वर्ष मृत्यु भएको थियो । बाबु बितेपछि विधवा आमा, बहिनी र भाइको जिम्मेवारी सुजनको काँधमा आइपुग्यो ।

क्यान्सर पीडित बुबाको उपचार गर्दा ऋणको भारीले थिचिएका सुजन घर छाडेर परदेश हानिने निर्णयमा पुगे । कोरिया गएर ऋण तिर्ने सपना बोकेर उनी काठमाडौं आए । कोरिया भाषा परीक्षाको तयारीमा जुटे । पानीजहाज निर्माण गर्ने कम्पनीमा काम गर्नका लागि दिएको प्रारम्भिक परीक्षामा उत्तीर्ण भए । तर, त्यसपछिको परीक्षामा सफलता मिलेन ।

सुजनलाई जसरी पनि जानु थियो, कोरिया । तिर्नु थियो, साहुको ऋण । बन्नु थियो, बुढेसकालमा आमाको साहरा । भाइको भरोसा । बहिनीको अभिभावक । त्यसैले उनले कोरिया सपना सजनाएका थिए । तर, ईपीएस शाखा बाधक बन्यो । पानीजहाज निर्माण कम्पनीमा असफल भएकालाई रोक लगाइदियो । देशका कुनाकुनाबाट काठमाडौं आएका हजारौं युवाको सपना टुट्यो ।

तर, हार मानेनन् । कोरिया जाने प्रयास जारी राखे । फलस्वरुप आन्दोलनमा उत्रिए । बालकुमारीमा रहेको ईपीएस शाखा कार्यालय नजिक जम्मा भए । त्यही भिडमा थिए सुजन र वीरेन्द्र । आक्रोशित भिड अनियन्त्रित बन्यो । तोडफोड र आगजनीमा उत्रियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्यो । गोली चलायो । प्रहरीको लाठी छातीमा लागेपछि सुजन सडकमै ढले । अचेत अवस्थामै उनलाई किस्ट मेडिकल कलेज पुर्याइयो ।

तर, उनको प्राण उडिसकेको थियो । सुजनसँगै ढल्यो विधवा आमाको सहारा । गुम्यो बहिनीको ‘बा’को झल्को मेटाउने दाइ । टुट्यो भाइको भरोसा । ऋण र दिन एकैचोटि लाग्यो । वीरेन्द्रलाई प्रहरीको गोली लाग्यो । हतपत पाटन अस्पताल पुर्याइयो । तर, उनलाई पनि बचाउन सकिएन । सुजन र वीरेन्द्रको सपना एकैक्षणमा हावामा विलीन भयो । उनीहरूसँगै अस्तायो लाखौँ युवाको आशा । बाध्यात्मक सपना । मन्त्रीको गाडी नै जलाउनेको समर्थन गर्न नसकिएला ।

तर, त्यसको मूल्य चुक्ता गर्न जीवन नै दान गर्नुपथ्र्यो र ? नागरिकको जीवनभन्दा ठूलो मन्त्रीको गाडी पक्कै होइन । अर्को महत्वपूर्ण कुरा, यस्तो परिस्थिति कसले गर्दा बन्यो ? किन बन्यो ? भन्ने कुरा मुख्य हो । आन्दोलन त बाध्यता हो । सुजन र वीरेन्द्र मारिनु ईपीएस त एउटा निहुँ मात्रै हो । मुख्य समस्या त मुलुकको आर्थिक संकट र बेरोजगारी नै हो । देशमा बेरोजगारी समस्या व्याप्त छ । युवाको साझा बाध्यात्मक सपना बनेको छ, विदेश जाने । कमाउने । जमाउने । रमाउने ।

सुजन–वीरेन्द्रको मृत्युले सबैभन्दा ठूलो चोट शासकलाई लाग्नुपर्ने हो । मन भत्भति पोल्नुपर्ने हो । निन्द्रा नलाग्नुपर्ने हो । आत्मग्लानि हुनुपर्ने हो । अपराधबोध हुनुपर्ने हो । तर, १० लाखले सबै छोप्ने प्रयास गरेका छन् । के १० लाखले आमाको ममता भरपाई हुन्छ ? भाइको भरोस फर्कन्छ ? ‘बा’को झल्को मेटिन्छ ? देशमा भविष्य अन्धकार देखेपछि विदेश जान पाउ भन्दै उनीहरू सडकमा उत्रिएका हुन् । तर, काम दिन नसकेको शासकले गोली दियो ।

के गोली चलाउनु नै अन्तिम विकल्प थियो र ? भोलि अरु युवा पनि सडकमा उत्रिएलान्, फेरि उनीहरूमाथि पनि गोली नै हान्ने हो ? देश छाड्ने रहर होइन, बाध्यता हो । जनताको बाध्यतामाथि गोली चलाउने शासकको कस्तो बाध्यता ? यसको जिम्मेवारी कसले लिने ? सुजन र वीरेन्द्रको हत्याको जिम्मा गृहमन्त्रीले लिनुपर्ने हो । तर, ढुंगा बोल्छ, उनी बोल्दैनन् । देशलाई यस्तो हालतमा कसले पुर्यायो ? यसको जिम्मा देशको ठेक्का लिनेहरूले लिनुपर्ने हो ।

दोष अहिलेका सरकारको मात्रै छैन, अन्य दलको पनि उत्तिकै छ । देश बनाउने बाचा गरेपछि जनताले भरोसा गरेर उनीहरूलाई जिम्मा लगाएको हो । राजनीति केका लागि ? कसका लागि ? जनतालाई रुवाउन ? युवालाई बिचल्ली पार्न ? कुशासन र भ्रष्टाचारमा देश डुबाउन ? सत्ताको लुछाचुँडी केका लागि ? उछिनपाछिन र दौडधुप कोका लागि ? केका लागि नाटक र नौटङ्की ? नेता सत्ताको म्युजिकल चियरमा घुमिरहन्छन् । युवा कामको लागि भौतारिहन्छन् । कोही युवा मर्न रुस पुग्छन् । कोही कोरिया पुग्न नेपालमै मर्छन् ।

राणा, पञ्च्यात र राजा फालेर मात्रै पुगेको छैन । युवालाई पनि फालिरहेका छन् ! नेताहरू भ्रष्टाचार गर्न एकजुट हुन्छन् । देश लुट्न सहमति र सहकार्य गर्छन् । तर, युवाको समस्यामा कहिल्यै सहमति हुँदैन । शासकले न स्वदेशमा बस्ने वातावरण बनाइदियो । न त विदेश जान सहजता अपनाइदियो । स्वदेशमा गरिखाने वातावरण छैन । स्वदेशी सपना मरिसक्यो । परदेशी सपनाको पनि हत्या हुँदैछ । युवा ‘भीरको चिन्डो, उँधो न उँभो’ भयो । बिदेसिने युवासँग गगन चुम्ने सपना छैन ।

छैन, संसार जित्ने महत्वकांक्षा छैन, छ त केवल एउटा औसत जिन्दगी जिउने । बुढेसकालमा आमाबुबाको सहारा बन्ने । बालबच्चालाई राम्रो शिक्षादीक्षा दिने । यसलाई सपना भन्न पनि मिल्दैन । जिम्मेवारी हो । कर्तव्य हो । युवा बेरोजगारीका चुनौती बहुआयामिक छन् । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । बेरोजगारी जति सुकै जटिल भएपनि यसको समाधान गर्न उपायहरू छन् । शिक्षा प्रणालीलाई गतिशील र समय सान्दर्भिक बनाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, लगानीमैत्री वातावरण बनाउने हो भने युवाको भविष्य देशमै उज्ज्वल छ । निराशालाई आशामा बदल्न सकिन्छ । र, युवालाई देशको खम्बा बनाउन सकिन्छ ।

प्रकाशित मिति : २१ पुष २०८०, शनिबार ०८:४३