सूचनाको शक्ति - The Power Of Information

        

१२४ वर्षदेखि बाँधिएको एउटा रुख

पाकिस्तानको पेशावरमा एउटा यस्तो रुख छ, जुन रुख सवा एक शताब्दीदेखि नेलमा बाँधिएर बसेको छ । रुख पक्राउ परेको छ भन्दा ठिक होला कि । सो रुखलाई एक बेलायती अफिसरले सन् १८९९ मा सजाय स्वरुप बाँधेका हुन् । जेम्स स्कुईड नाम गरेका ती बेलायत अधिकारी रक्सीको नसामा चुर थिए ।

तोरखान सीमा नजिकको लंडी कोटर नाम गरेको सो शहरमा स्कुईडले इतिहासकै अनौठो पक्राउको आदेश दिए । आफू जति–जति नजिक आयो उति–उति रुख टाढा भागेको भन्दै रुखसँग झोक फेर्न ती अधिकारीले रुखलाई फलामको मोटा मोटा सिक्रीमा बाँध्न आदेश दिए । त्यसयता रुख जन्जिरमा छ ।

रुखमा ठोकिएको काठको चेप्टो टुक्रामा यो घटना सम्बन्धी रोचक कथा पनि लेखिएको छ । ‘म पक्राउ परेको छु,’ काठको टुक्रामा भनिएको छ । यस रुखलाई पयर्टकहरु पनि हेर्न आउँछन् । यो देखेर उनीहरुलाई हाँसो उठ्न सक्छ । तर स्थानीय बासिन्दाका लागि भने रुख स्थानीयमाथि बेलायती शासकहरुले गरेको दमन अनि अत्याचारको प्रतीक हो ।

धेरैले यसलाई नाङ्गलो ठोकेर हात्ती तर्साउने तरिकाको रुपमा हेरेका छन् । यसको अर्थ स्थानीयहरुले ब्रिटिस राजविरुद्ध केही गर्न खोजे भने रुखलाई जस्तै गरी उनीहरुलाई पनि दण्डित गर्नेछ भन्ने रहेको एक स्थानीयले बताए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १५:३६

लोकप्रिय