२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday

बहुविवाह गरेर विदेश उड्न लागेका पुरुष विमानस्थलमा समातिए

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस २० गते शुक्रबार

काठमाडौँबाट बैंकक जान ठिक्क परेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् । बहुविवाहको मुद्दा खेपिरहेका धरानका डम्बरबहादुर लिम्बूको विदेश यात्रा विमानस्थल पुगेपछि रोकिएको हो ।

सुनसरीको रामधुनी–७ घर भई हाल धरान बस्दै आएका ५४ वर्षीय लिम्बू बैंकक जान सबै कागजपत्र मिलाएर विमानस्थल छिरेका थिए । उनी मध्यान्ह १२ बजेतिर अध्यागमन डेस्कमा पुगेका थिए ।

लिम्बूको ०८४३३८९६ नम्बरको पासपोर्ट इन्ट्री गर्ने बित्तिकै इलाका प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा, धरानले असोज २८ गते अध्यागमनलाई लेखेको बहुविवाहका प्रतिवादी भन्ने जानकारीसहितको चलानी नम्बर १९८४ को पत्र देखिएपछि उनको पासपोर्टमा प्रस्थानको छाप हान्न अध्यागमनका कर्मचारी हच्किएका हुन् ।

त्यसपछि अध्यागमनले उनलाई प्रहरीको जिम्मा लगाएको हो । लिम्बू आज दिउँसो थाई एयरवेजको फ्लाइट नम्बर टिजी–३२० मा बैंकक उड्न लागेका थिए ।

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार