जापान एयरलाइन्सको भीमकाय विमानमा आगो लागिसकेको थियो । यात्रुहरु आफ्नो सामान छोडेर आपतकालीन ढोकातिर दौडिरहेका थिए । विमानको चालक दलका सदस्यरुले दिएको निर्देशन यात्रुले पालना गरिरहेका थिए । टोकियोको हनेदा विमानस्थलमा मंगलबार विमान दुर्घटना हुँदा दृष्य यस्तै थियो ।
आगलागी हेर्दा जोकसैले अनुमान गर्न सक्थ्यो, कोही बाँच्दैन । तर विमानमा सवार सबै ३७९ यात्रुको सकुशल उद्धार भयो । एभिएसन इन्डस्ट्रीका जानकारहरुका अनुसार यात्रुहरुले आफ्नो सामान छोडेर भाग्नु नै ज्यान बच्नुको मुख्य कारण हो । उनीहरुले सामान समेट्न थालेको भए स्थिति अर्कै हुन सक्थ्यो ।
जापान एयरलाइन्सको विमान जब हनेदा विमानस्थलमा ल्यान्ड भयो, त्यहाँ पार्किङ गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किन पुग्यो । हेर्दाहेर्दै विमानमा आगो सल्कियो र फैलिन थाल्यो । कोस्ट गार्डको विमान तुलनात्मक रुपमा सानो थियो । त्यसमा रहेका ६ मध्ये ५ जनाको ज्यान गएको छ । त्यति ठूलो विमानमा आगो लाग्दा त्यति ठूलो संख्याका यात्रु सबैलाई कसरी बचाउन सकियो ?
दुनियाँ आश्चर्यचकित छ । चालक दलका सदस्यले बीबीसीलाई बताएअनुसार उनीहरुले तालिमका क्रममा सिकेको कुरा व्यवहारमा उतारे । यसमा यात्रुको संयममताले साथ दियो । यात्रुहले सेफ्टी प्रोटोकलको पालना नगरेको भए, भागदौड मच्चिएको भए सायदै सबैलाई बचाउन सकिन्थ्यो ।
युनिभर्सिटी अफ ग्रीनविचमा फायर सेफ्टी इन्जिनियरिङ ग्रुपका निर्देशक एड गैलिया भन्छन्, ‘मैले जति पनि भिडियो देखेँ, त्यसमा कोही पनि यात्रु आफ्नो सामानसँग ग्राउन्डमा देखिएका छैनन् । कोही पनि आफ्नो हेन्ड ब्याग लिनतिर लागेनन् । यात्रुहरुले लगेज लिने कोसिस गरेको भए त्यो खतरनाक हुन सक्थ्यो । किनकी त्यसो गर्दा समय बढी खर्च हुन्थ्यो ।’
उनका अनुसार दुर्घटना भएको विमान एयरबस ३५० को स्थितिले पनि यात्रुको उद्धार प्रक्रियालाई मुस्किल बनाइदियो । विमानको अगाडिको भाग भूइँतिर झुकेको थियो । यसले गर्दा यात्रुलाई अर्कोतर्फ हिँड्न असहज भयो । यात्रुलाई बाहिर निकाल्न तीन वटामात्र आपतकालिन ढोका खोल्न सकिने अवस्था थियो ।
विमानको अगाडिको भागमा रहेको इन्फ्लाटेबल स्लाइड पनि सुरक्षित थिएन किनकी विमान अगाडि झुकेको थियो । जापान एयरलाइन्सले बताएअनुसार उद्धार कार्य सुरु हुँदासम्म विमानको अनाउन्समेन्ट सिस्टम बिग्रिसकेको थियो । चालक दलका सदस्यहरु मेगाफोनबाट ठूलो आवाजमा यात्रुहरुलाई आवश्यक निर्देशन दिइरहेका थिए ।
उद्धारका क्रममा केवल एक यात्रुलाई सामान्य चोट लाग्यो भने १३ जनाले दुखाइ तथा अन्य शारीरिक समस्यका लागि मेडिकल मद्दत मागेका थिए । विमानमा सवार यात्रुलाई अविश्वसनीय रुपमा भाग्यमानी मानिएको छ । यति ठूलो दुर्घटनामा सकुशल रहनु चमत्कार नै हो वास्तवमा ।
यात्रुहरु आत्तिएर भागदौड नगर्नु, चालक दलका सदस्यले दिएको निर्देशन पालना गर्नु र हेन्ड लगेज लिन कोसिस नगर्नुले यो चमत्कार हुन पुगेको हो । सन् १९७७ मा स्पेनको रोडियस एयरपोर्टमा दुईवटा बोइङ ७४७ ठोक्किँदा ५८३ जनाको मृत्यु भएको थियो । हवाई यातायाताको इतिहासमा यसलाई सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं