नेपाल खाद्य संस्थानमा एकै दिन २८ वटा च्याङ्ग्रा मरेको फेला परेका छन् । दसैं–तिहारका लागि भनेर ल्याइएका र बिक्री नभएकामध्ये एकैदिन २८ वटा च्याङ्ग्रा मरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश प्रमुख ज्ञानु थापाले जानकारी दिएकी छन् ।
यद्यपी एकै पटक यति ठूलो संख्यामा च्याङ्ग्राहरु कसरी मरे भनेर भने स्पष्ट रुपमा भने कसैले पनि बताउन चाहेनन् । खाद्य संस्थान व्यापार प्रबर्द्धक भेषनाथ न्यौपानले भने यसबारे आफूले बोल्न नमिल्ने बताए ।
त्यसैगरी संस्थानका खरिद एकाई प्रमुख भिम थापाले दसैं–तिहारका लागि ५४२ च्याङ्ग्रा ल्याइएकोमा करिब १०० वटा बाँकी रहेको जानकारी दिए । मरेका च्याङ्ग्राहरुको विषयमा भने आफूले बोल्न नमिल्ने बताए ।
त्यसैगरी संस्थानका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले मरेको भन्ने खबर पाएको तर कति मरे भन्ने यकिन भइ नसकेको जानकारी दिए । उनले भने, ’बिक्री नभएका ४७ वटा बाँकी थिए, त्यसमा कति मरे, कति घाइते छन् । अहिले यकिन हुन सकेको छैन ।’
संस्थानको बिक्री वितरण विभागका अधिकारी निर्मल शर्माले दसैंमा ५४५ वटा च्याङ्ग्रा भेडा ल्याइएकोमा ९३ वटा बाँकी रहेको जानकारी दिए । उनले मरेका भेडाहरुलाई पशु चिकित्सकको जिम्मा लगाइएको बताइए पनि कति मरे भन्ने विषयमा आफूले बोल्न नमिल्ने बताए ।
यसरी संस्थानका जिम्मेवार अधिकारीहरु भने एकले अर्कोलाई देखाएर पन्छिने गरेका छन् । तर, संस्थानकै अर्का एक अधिकारीले नाम नखुलाउने शर्तमा संस्थानका सीइओ, खरिद एकाई प्रमुख र अन्य केही कर्मचारीको मिलेमतोमा दसैं–तिहारमा च्याङ्ग्रा ल्याउने भनेर बजेट छुट्याइए पनि त्यसका नाममा सस्तोमा हिमाली भेडा ल्याएको दाबी गरे ।
उनले भने, ‘उहाँहरु मिलेपछि यहाँ अरु केही र कोही चाहिँदैन । कमिसनको गोलचक्कर छ । भनिसाध्य नै छैन ।’ यति ठूलो संख्यामा च्याङ्ग्राहरु एकैपटक मरेका भए पनि जवाफदेही हुने पक्षमा कोही नदेखिएको ती अधिकारीको गुनासो छ । उनले भने, ‘आज यत्रो संख्यामा एकैपटक च्याङ्ग्राहरु मरेका छन् । यो कसरी भयो भन्ने विषयमा जाँचबुझ हुनुपर्ने हो ।’
तर, यहाँ मुखामुख गरेर बैठक बस्ने र यसलाई टुंग्याउने तयारी भइरहेको छ । ‘यो कमिसनको खेल गत दसैंदेखि सुरु भएको हो । दसैंमा च्याङ्ग्रा ल्याउनका लागि बजेट छुट्याइयो । तर, सस्तोमा हिमाली भेडा ल्याएर आइयो । त्यसमा केही बिक्री भए र केही पछि सस्तो दरमा बिक्री गरियो,’ ती कर्मचारीले भने ।
करिब १०० जति बाँकी थिए । त्यसमा पछिल्लो समय ९३ र तीन दिनअघिको तथ्यांक अनुसार ४८ वटा भेडा जीवित रहेको ती अधिकारीको दाबी छ । ती अधिकारीका अनुसार बिक्री भएका भनिएका ४५ वटा भेडा पनि कति मूल्यमा कसरी बिक्री भए भन्ने यकिन आइसकेको छैन । तर, बिक्री भएको भनिएको छ ।
उनले भने, ‘बचेका ४८ वटा भेडा हेर्नका लागि चार जना जनशक्ति राखिएको छ । अब एकै पटक ३३ वटा भेडा मरेपछि पनि कसरी भयो भनेर प्रश्न गर्न पाइँदैन ।’ यसरी हेर्दा यहाँ कति बाँकी थिए भन्नेमा नै संस्थाका अधिकारीहरुकै मत बाझिएको छ ।
थापाले भनिन्, ‘गोठालाले बुधबार राति चराएर ७ बजे गोठमा ल्याएर राखेको र बिहान गोठाला आउँदा मरेको भन्ने खबर मलाई गरे । मृत्युको कारण प्रयोगशालापछि मात्रै थाहा हुनेछ ।’ उनले अब यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा व्यवस्थापनसँग छलफल गरेर निर्णय हुने उनले जानकारी दिइन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं