नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको अनुगमन समितिले अनुगमन गर्दा दुई पानी उद्योगलाई कारबाही गरिएको हो।
उहाँका अनुसार नेपालगन्ज–५ मा रहेको गोल्डेन प्रशोधित पिउने पानी उद्योगले पानी उत्पादनको अनुज्ञापत्र नै नलिई उत्पादन तथा बिक्री वितरण गरेको फेला परेकोले सो उद्योगलाई ५० हजार रुपियाँ जरिवाना गर्नुका साथै उद्योग सिल गरेर तालाबन्दी गरिएको बताउनुभयो।
सो उद्योगमा रहेका पानी भर्ने जार पनि निकै पुराना र काम नलाग्ने देखिएकोले २६ वटा जारलाई नियन्त्रणमा लिएर ती जारमा पानी विक्री गर्न रोक लगाइएको बताउनुभयो।
सोही प्रकारले नेपालगन्जकै रारा ड्रिङकिङ वाटरले पनि यसअघि अनुगमन टोलीले दिएको निर्देशनको पालना गरेको नपाइएकोले प्रशासनमा कारणसहित उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो।
नेपालगन्जमा सञ्चालनमा रहेका केही पानी उद्योगले कानुन, मापदण्डको पालना नगरी नै प्रशोधित पानी बिक्रीका लागि बजारमा पठाउने गरेको पाइएको छ। पानी जस्तो स्वास्थ्यका लागि निकै संवेदनशील मानिने वस्तुमा पनि मापदण्ड पालना नहुँदा हजारौँको स्वास्थ्य जोखिममा रहेको अगुवाको गुनासो छ।
नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले खानेपानी जस्तो निकै संवेदनशील उद्योगमा पटक-पटक कैफियत देखिनु निकै खतराको सङ्केत भएको बताउनुभयो।
उहाँले खाद्यान्नमा मिसावट र खानेपानीमा बेवास्ता र मापदण्ड पुरा नगरिँदा सहरका धेरैको स्वास्थ्य नै जोखिममा रहेकोले सो सम्बन्धमा स्थानीय प्रशासनले समयमै उचित कदम चाल्नुपर्ने माग गर्नुभयो।
पटक-पटक बजार अनुगमन समितिले पानी उद्योगको उत्पादन नै बन्द गर्दै जरिवाना गर्दै आएकोले ती उद्योगले अटेरी गरिरहेको हुँदा थप कडाइ आवश्यक रहेको स्थानीय उपभोक्ताको माग छ।
बाँकेमा रहेका खाद्य उद्योगसँगै पानी उद्योगमा पनि निरन्तर अनुगमन गर्नुपर्ने माग अधिकांश सर्वसाधारणको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके