सूचनाको शक्ति - The Power Of Information

        

१४ किलो सुनकाण्डमा अख्तियारले समेत अनुसन्धान गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० को राति फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन निर्देशन दिएको हो ।

सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु समेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको भन्दै सरकारी वकिलको कार्यालयले अख्तियारमा फाइल पठाउन राय दिएको हो ।

जिल्ला अदालतमा पेश भएको आरोपपत्रको साथमा समावेश भएको रायमा भनिएको छ, ‘उनीहरुले डि.बि. भन्ने दानबहादुर गुरुङसँग घुसरिसवत लिई सुन चोरी पैठारी सम्बन्धि कार्य गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे कुनै निकायवारे निर्णय भएर आएको विषयलाई आयोगले उजुरीका रुपमा लिने र अनुसन्धान अघि बढाउने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म आयोगमा त्यससम्बन्धी निर्णय आएको छैन । निर्णयको फाइल आउनासाथ आयोगले अनुसन्धान अघि बढाउँछ ।’

गत मंसिरमा सुन ल्याउदै गर्दा गोरखाका चन्द्र घले विमानस्थलमा पक्राउ परेका थिए । खल्तीयुक्त ज्याकेटमा ७ वटा सुनको बिस्कुट ल्याएका उनले मिनबहादुर घलेको निर्देशन अनुसार आफूले सुन लिएर आएको बयान गरेका थिए ।

मिनबहादुरले अर्का डी.बी भनिने दानबहादुर गुरुङको नाम लिँदै विमानस्थलभित्रको सेटिङ उनैले मिलाउने बयान गरेका थिए । त्यसक्रममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको संलग्नता समेत फेला परेको आरोपपत्रमा उल्लेख छ ।

जिल्ला अदालत, काठमाडौंमा आरोपपत्रको साथमा पेश भएको सरकारी वकिलको रायमा भनिएको छ, ‘अवैध सुन चोरी पैठारी काममा राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत नागरिक उड्ययन प्राधिकरणका कर्मचारी देखिएको र उनीहरुले दानबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारीको काम गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १५:५५

लोकप्रिय