सूचनाको शक्ति - The Power Of Information

        

उपचार खर्च तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै बन्धक

इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताएका थिए । विं.सं.२०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए ।

छ महिनाअघि उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका थिए । तर, घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् । दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद)लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नु परेको छ ।’

गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौं लगायत विभिन्न स्थानबाट सहयोगको प्रस्ताव आइरहे पनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताए । ‘उपचारमा त्यहाँ सात लाख १५ हजार खर्च भएको थियो,’ गोपालले भने, ‘तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नु परेको छ, पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।’

अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै उनले अहिले हिसाब–कति पुग्यो थाहा नभएको बताए । साइक्याट्रिनका अध्यक्ष डा.गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताए । ‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो,’ उनले भने, ‘शतप्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’

उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउन सक्ने र अरूले भनेको काम गर्न सक्ने भएको जानकारी दिए । दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताए । इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई ०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो ।

उनी २० वर्षे उमेर छँदा ०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी ०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए । इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार ०९:५०

लोकप्रिय