सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार सम्मेलनमै नेताको घाँटीमा छुरा हानेपछि…

दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङलाई दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले घाँटीमा छुरा प्रहार गर्दा मङ्गलवार घाइते भएका छन् । लीलाई करिब डेढ सेन्टिमिटरको चोट लागेको बताइएको छ ।

स्थानीय समय अनुसार बिहान १०ः२७ बजे बुसानको नयाँ विमानस्थलको निर्माण स्थलको भ्रमण गरिसकेपछि लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार भएको थियो । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकप्टरबाट सियोलको अस्पतालमा लगिएको छ । भिडियो फुटेजमा आक्रमणकारीले अटोग्राफ माग्दै लीको नजिक गएका र उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको देखिएको छ ।

६० वर्षको किमको थरबाट मात्र पहिचान भएका आक्रमणकारीले डेमोक्र्याटिक पार्टीका नेतालाई मार्ने मनशाय रहेको प्रहरीलाई बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । किमले गत वर्ष इन्टरनेटमा करिव १८ सेन्टिमिटर लामो चक्कु किनेका थिए । उनको अन्य कुनै आपराधिक रेकर्ड थिएन ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले पुलिस र सम्बन्धित अधिकारीहरूलाई छिटो सत्यतथ्य पत्ता लगाउन र लीको उपचारका लागि सहयोग गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । युनले यस्ता हिंसात्मक कार्यलाई कुनैपनि हालतमा सहन नहुनेमा जोड दिए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ पुष २०८०, बुधबार ०९:३८

लोकप्रिय