२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

कोहलपुरमा जीन बैंक स्थापना

लोपोन्मुख प्रजातिका जीवजन्तु र किराको संरक्षण गर्ने उदेश्यले कोहलपुरमा किरा/मौरी फिल्ड सामुदायिक जीन बैंकको स्थापना भएको छ।

कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले स्थापना गरेको सो जीन बैंकको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र राष्ट्रिय जीन बैंक नार्कका वैज्ञानिक डा. मुकुन्द भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभयो।

सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले लोपोन्मुख प्रजातिका जीवजन्तु र किराको संरक्षण आवस्यक रहेकोले गोरखा युनाइटेडले राम्रो काम गरेको जनाउँदै यसका लागि स्थानीय सरकारले गर्ने हरेक प्रकारको सहयोग गरिने बताउनुभयो।

यस्तै राष्ट्रिय जीन बैंक नार्कका वैज्ञानिक डा. भट्टराईले विभिन्न प्रजातिका जीवजन्तु र किराको संरक्षण मानिसकै लागि अति आवश्यक रहेकोले स्थानीय सरकारले यस्ता खालका कार्यमा सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो।

उहाँले यो जीन बैंकमा लोपोन्मुख प्रजातिका करिब ३० मौरीका घारमा ५ प्रजातिका मौरी र अन्य विभिन्न ५ प्रजातिका जीवजन्तु रहेकोले उनीहरु लगायत अन्य लोपोन्मुख प्रजातिका जीवजन्तुको संरक्षणमा जोड दिनुभयो।

बाँकेका लोपोन्मुख तथा विभिन्न प्रजातिका किराको संरक्षणका लागि चिसापानी गाभर होमस्टेमा यसअघि नै किरा बैंक स्थापना गरिसकिएको होमस्टेका सञ्चालक कृष्ण चौधरीले बताउनुभयो।

उहाँले गोरखा युनाइटेडमा स्थापना गरिएको जीन बैंकसँग सहकार्य र समन्वय गर्न आफूहरु तयार रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८० पुस १७ गते मंगलबार