सूचनाको शक्ति - The Power Of Information

        

को बन्ला उद्योग विभागको महानिर्देशक ?

उद्योग विभागको महानिर्देशक हुनका लागि गृहमन्त्रालयबाट उद्योग छिरेका छवि रिजाल नयाँ पात्रका रुपमा उदाएका छन् । तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट उद्योग मन्त्रालयमा सरुवा भएको एक महिना पनि नपुग्दै रिजालले उद्योग विभागको महानिर्देशक पदमा आँखा लगाएका छन् । उनी अहिले उद्योग मन्त्रालय नीति योजना महाशाखाको प्रमुखका रुपमा कार्यरत छन् ।

उनी तनहुँभन्दा पहिला झापा, सुर्खेतजस्ता जिल्लामा सीडीओ भइसकेका छन् । आफूलाई खुँखार कांग्रेसको क्याडरका रुपमा चिनाउने रिजाल पर्वतका हुन् । उद्योग मन्त्री पनि रिजाल थरकै भएकाले छविमा महानिर्देशक हुने उत्कट चाहना पलाउन थालेको हो । रोचक प्रसंग के छ भने महानिर्देशककै रुपमा उद्योगमा पदस्थापन हुन चाहेका उनी मन्त्रालयमा हाजिर नहुँदै नीति योजना महाशाखामा पदस्थापन गरिएपछि जिल्लिएका हुन् ।

मन्त्रालयको नीति तथा योजना महाशाखाको प्रमुख डा. गोविन्दबहादुर कार्कीको सरुवा भएपछि रिक्त हुन पुगेको थियो । उद्योग सचिव मुकुन्द निरौलाले छविलाई महानिर्देशक बनाउन बचन नदिएका होइनन् । तर, जसलाई भेट्यो, त्यसलाई पद बाँड्न सिपालु सचिव निरौलाको एकल बलले मात्र रिजाल महानिर्देशक हुने सम्भावना थिएन ।

हालका महानिर्देशक बाबुराम गौतमले मन्त्री रमेश रिजालकै रोजाइमा लगिएका कारण सचिव दाहिना हुँदा पनि विभागको डीजीमा छलाङ मार्ने छविको योजनाले तत्काल मूर्तरुप लिन नसके पनि आशा भने मारिसकेका छैनन् । छविले आफूलाई राष्ट्रपति रामचन्द्र पौडेलको अनुयायीको रुपमा चिनाउने गर्दछन् । सोहीकारण उनी झापा, तनहुँजस्ता जिल्लामा सीडीओ खान सफल भएका थिए । पौडेल गुटका मन्त्री नहुनु पनि छविका लागि शुभसंकेत होइन ।

अहिलेको समय उपयुक्त नभएको जान्दाजान्दै पनि उनले कांग्रेस सांसद प्रदीप पौडेल लगायतका अर्जुन जोशीजस्ता नेताको सहारामा डीजी हुने प्रयास जारी राखेका छन् । त्यस्तै उद्योग विभागको महानिर्देशक बन्नका लागि सधैं चर्चामा रहेकी सहसचिव चन्द्रकला पौडेलले पनि प्रयास छाडेकी छैनन् । तीन पटक सहसचिवहरूको सरुवा हुँदा पनि उनी उद्योगमै टिकिरहन सफल छिन् ।

विभागमा पहिलो महिला महानिर्देशक हुनका लागि उनी जोडतोडका साथ लागिरहेकी छिन् । २०७० चैत २६ मा खुल्ला परीक्षाबाट सहसचिव बढुवा भएकी पौडेलको जागिर २०८९ बैशाख ९ सम्म रहेको छ । मन्त्रालयकै सिनियर सहसचिव भएकाले महानिर्देशक पाउनुपर्ने जिरह उनले गर्दैआएकी छिन् । ४२ दिने उद्योगमन्त्री दामोदर भण्डारीले उनलाई झन्डैझन्डै महानिर्देशकमा खटाउन लागेका थिए ।

एमाले अध्यक्ष केपी ओलीको जोडबलमा उनलाई महानिर्देशक बनाउन दबाब दिएपछि भण्डारी अप्ठेरोमा परेका थिए । आफ्नो चाहनाबिपरीत ब्यक्तिलाई महानिर्देशक बनाउनुभन्दा टारेरै ४२ दिने कार्यकाल उनले गुजारेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले तीन महिना उद्योग मन्त्रालय सम्हाल्दा पनि पौडेलले आफ्नो आकांक्षा छाडेकी थिइनन् ।

उद्योग मन्त्रालयको औद्योगिक पूर्वाधार महाशाखाकी प्रमुख रहेकी पौडेलले आफ्नो महाशाखाको बजेट कन्सलटेन्सीमार्फत् नै खर्च गरी कमिसन बुझ्ने गरेको आरोप छ । भेषराज लुईटेल नामका नटवरलाल उनको कार्यकक्षमा बारम्बार जाने गरेका छन् । लुईटेलमार्फत् नै उनले कन्सल्टेन्सी र पुल्चोक थापाथली इन्जिनियरिङ कलेजमा जी टु जीका नाममा महाशाखाको बजेट खर्च गरी लाभ लिने गरेको आरोप छ ।

सरकारी निकायलाई उद्योग मन्त्रालयले बजेट दिएर खर्च गराउने अनौठो प्रचलन उनकै पालामा चलाइएको छ । अहिले मन्त्रालयभित्र भन्ने गरिन्छ, रातो कितावमा बजेट उल्लेख छ तर, पौडेलको दबाबमा कार्यबिधि बनाउँदै अन्य सरकारी निकायलाई बजेट पठाउने गरिन्छ । क्रसर र ढुंगाको मापदण्ड बनाउनका लागि तत्कालीन गृहमन्त्री रवि लामिछानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवको नेतृत्वमा बनाएको कार्यदलमा उद्योग मन्त्रालयका तर्फबाट पौडेल सदस्य छिन् ।

कानुन बनाउने कार्यदलमा पौडेलको नाम भएपछि क्रसर उद्योगी र दलालहरूको जमघट पनि उनको कार्यकक्षमा हुने गरेको छ । मापदण्ड खुकुलो पार्न र दूरी घटाउने किसिमको ड्राफ्ट बनाउनका लागि तिनै बिचौलियाहरूले प्रलोभन दिंदै हिंडेका छन् । जसका कारण पौडेलको बोली फेरिएर भन्न थालेकी छिन्, क्रसर उद्योगीहरू विद्यमान मापदण्डका कारण मारमा परेकाले क्राइटेरिया खुकुलो बनाउनैपर्छ । यही कुरामा उनले सचिव निरौलालाई समेत कन्भिन्स गरिसकेको बताइन्छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १५:१४

लोकप्रिय