सूचनाको शक्ति - The Power Of Information

        

पूर्वआइजीपीको कठालो एसपीले समातेपछि…

सर्वेन्द्र खनाल र दीपक खरेल

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले बहालवालाकै जस्तो रवाफ देखाउँदा संगठनबाटै अवकाश पाएका एक पूर्वएसपीबाट अपमानित हुनुपरेको छ । घटना एक महिनाअघिको हो । गएको मंसिर १७ गते सशस्त्र प्रहरी बलका पूर्वडीआइजी माधव थापाको छोराको विवाह भोज होटल र्‍याडिसनमा थियो ।

नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा गएका माधव थापाको छोराको भोजमा धेरैजसो प्रहरीकै भूपू अधिकारीहरू निम्तालु थिए । भोजमा मदिराको चूस्कीसँगै राजनीतिक बिषयमा कुराकानी हुन थाल्यो । काविल भएर पनि गणतन्त्रको आन्दोलनले नेपाल प्रहरीको आइजीपी हुनबाट बन्चित भएका पूर्वएआइजी राजेन्द्रबहादुर सिंह, सर्वेन्द्र खनालहरुबीच वर्तमान राजनीतिक परिस्थितिको बारेमा कुराकानी हुन थाल्यो ।

सिंहले दलहरू असफल हुन थालेको, जनतामा निराशा छाएको, राजाको माग हुन थालेको कुरा निकाले । खनालले राजाको पक्षमा जनता नआएको, दुर्गा प्रसाईले ऋण मिनाहा गरिदिन्छु भनेर दुई चार हजार जम्मा पारेको भरमा राजा आउँदैनन् भन्दै प्रतिवाद गरिरहेका थिए । उनीहरूबीच बिद्यमान राजनीतिका बारेमा छलफल भइरहेको बेला नेपाल प्रहरीकै पूर्वएसपी दीपक खरेल आइपुगे ।

उनले खनालतर्फ संकेत गर्दै भने, ‘तपाईहरू पनि पहिला राजावादी त हो, राजाको पालामा तपाईका दाजुभाई मन्त्रीसमेत बन्नुभयो । पछि कांग्रेस हुनुभयो । फेरि माओवादी बन्नुभयो । पुनः एमाले हुनुभयो । राजा आए फेरि उतै गइहाल्नुहुन्छ ।’ खरेलले यसो भनेपछि खनाल रिसले रातोपिरो हुँदै ‘तैँले के भनिस् रे’ भन्दै उनलाई गाली गर्न थाले । खनालले तँ भनेपछि आक्रोशित भएका खरेलले कसलाई तँ भनेको भन्दै खनालको कठालो नै समाते ।

खनालको कठालो नै समातेपछि कुटाकुटको स्थिति आयो । त्यसलाई सम्हाल्न भोजमा सहभागी प्रहरी र सशस्त्रका हाकिमहरू नै अघि सर्नुपर्यो । खरेल र खनालबीच वाकयुद्ध हुँदै मल्लयुद्ध नै सुरु भएपछि छेउमा रहेका पूर्वडीआइजी सुरज केसीले खनाललाई समातेर गाडीमा लगी घरतिर पठाए भने खरेललाई अरुले लिएर गए । ह्वीस्कीको चुस्कीसँगै राजनीतिक बहसले तँ तँ म म को अवस्था आएर पूर्वआइजीपी र एसपीबीचको विवादले पार्टी नै खल्लो भएको थियो ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १५:००

लोकप्रिय