सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा गाउँमै सामाजिक सुरक्षा भत्ता

बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०-०८१ को प्रथम त्रैमासिक अन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो ।

गाउँपालिकाको वडा नं.२ बेतहनीबाट साेमवारदेखि  भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दै सुरक्षा भत्ता वितरणको शुभारम्भ गरेका हुन् ।

भत्ता विरतण कार्यको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले चिसोको मौसममा नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरिएकोे बताए । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंकिङ लगायत प्राविधिक समस्याले स्थानीयको घर-घरमै पुगेर वितरण गर्न नसक्नु दु:खद भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर) मै बोलाएर वितरण गर्न लागेको बताए ।

भत्ता वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, २ नं.का वडा अध्यक्ष दुर्गाप्रसाद बर्मा लगायतको उपस्थिति रहेको थियो । वडा नं. २ अन्तर्गत प्रहरी चौकीमा आज भत्ता वितरण गर्न सुरु गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताए  ।

उनका अनुसार पालिकाले भत्ताको रकम इएफटी प्रणालीको समस्याका कारण खातामा रकम जम्मा नभएकाले पहिलो त्रैमासिकको रकम वितरण गर्न लागिएको र यो रकमपछि वितरण हुनेछ ।

गाउँपालिकामा पहिलो त्रैमासिकका लागि ४ हजार तीन सय ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताए ।

वडा सचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना र ४ हजार रुपैयाँ, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना २ हजार ६ सय ६० रुपैयाँ, पूर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना  ३ हजार ९ सय ९० रुपैयाँ, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रति महिना २ हजार १ सय २८  रुपैयाँ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना  ५ सय ३२ रुपैयाँका दरले रकम वितरण गरिनेछ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०८:२४

लोकप्रिय