कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा केही महिनाअघि रातको समयमा चोरले पसलको ताला फोडेर मदिरा चोरी गरे । चोरले मदिरा लग्दै गरेको दृश्य सिसिटिभीमा कैद भयो । सोही आधारमा प्रहरीले चोरलाई समात्न सक्यो । झलारी बजारकै व्यापारी कमला ऐरको पसलअघि राखिएको एक साइकल चोरी भयो । सिसिटिभीमा साइकल चोरी गरेर लग्दै गरेका व्यक्तिको तस्विर देखियो ।
प्रहरीले सोही तस्विरका आधारमा व्यक्तिको खोजी गर्दा साइकलसमेत भेटियो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापा सिसिटिभी क्यामेरा पूर्वपश्चिम राजमार्गमा जडान गरिँदा अपराध अनुसन्धानमा सजिलो भएको बताउँछन् । ‘सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान हुँदा यात्राका क्रममा सवारीसाधनमा छुटेका, हराएका सामान बहुमूल्य गरगहना खोजी गर्न सकिएको छ,’ उनले भने ।
उनका अनुसार त्यस्ता सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाउन सिसिटिभी क्यामेरा सहयोगी बनेको छ । सवारी दुर्घटना, विभिन्न आपराधिक घटनामा संलग्नको पहिचान गरी अनुसन्धानमा सहजता भएको उनको भनाइ छ । सडक क्षेत्रका मुख्य बजार क्षेत्रमा हुने ट्राफिकसम्बन्धी समस्या कार्यालयमा राखिएको मोनिटरमा हेरेर नियन्त्रणका लागि प्रहरी परिचालन गरी नियन्त्रणसमेत हुँदै आएको उनले सुनाए ।
राजमार्ग क्षेत्रको शुक्लाफाँटाबाट कृष्णपुर नगरपालिका क्षेत्रसम्म ६२ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । जसमध्ये सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा २२, शुक्लाफाँँटा नगरपालिकाको सहयोगमा १२ र कृष्णपुर नगरपालिकाको सहयोगमा २९ वटा क्यामेरा जडान गरिएका छन् । राजमार्गका मुख्य बजार क्षेत्रका व्यापारी र घरधनीलेसमेत आफ्नै लगानीमा सिसिटिभी क्यामेरा जडान गर्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षअघि जडान गरेका सिसिटिभीमध्ये केही बिग्रिएकाले मर्मत गर्नुपर्ने शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष धीरेन्द्र साउदले बताए । ‘बिग्रिएका सिसिटिभी क्यामेरा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने, ‘थप सिसिटिभी क्यामेरा जडानका लागि स्थानीय तहले काम अघि बढाउनुपर्छ ।’ सिसिटिभी क्यामेराले गर्दा आपराधिक क्रियाकलाप नियन्त्रण आएको उनको बुझाइ छ ।
शुक्लाफाँटा नगरप्रमुख रणबहादुर महराले आवश्यकता भएका नगरपालिकाको क्षेत्रभित्र पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्र र राजमार्गसँगै जोडिएका मुख्य बजार क्षेत्रमा थप सिसिटिभी क्यामेरा जडान गरिने बताउँछन् । नगरपालिकाबाट राजमार्ग छेउछाउ, वडा कार्यालयले आपराधिक क्रियाकलाप हुने क्षेत्रसँगै जङ्गली जनावरको ओहोरदोहोर हुने क्षेत्रमा समेत नाइटभिजन सिसिटिभी जडान गरेको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७७–०७८ मा रु एक करोड ७१ लाखमा पूर्वपश्चिम राजमार्गको कैलाली कञ्चनपुरमा १३८ वटा सिसिटिभी जडान गरेको थियो । राजमार्गको कैलाली खण्डमा ९२ र कञ्चनपुरमा ४२ स्थानमा सिसिटिभी जडान गरेको छ । सिसिटिभी क्यामेराको निगरानी गर्न राजमार्ग क्षेत्रका इलाका प्रहरी कार्यालयमा स्टेशन बनाइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर