सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको जयेन्दु बालसुधार गृहमा तनाव, स्थिति नियन्त्रण बाहिर

बाँकेको एक बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ । डुडुवा गाउँपालिका–६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा हिजो (आइतबार) दिउँसोदेखि कैदी समूहबीच विवाद हुँदा तनाव उत्पन्न भएको हो ।

सुधार गृहमा राखिएकाहरुले आफू–आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेपछि प्रहरीले त्यहाँको स्थिती नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार उक्त घटनामा केही सामान्य घाइते भएका छन् ।

उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन । बाल सुधार गृहमा सिभिलमा खटिएका प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि नेपालगन्जबाट थप प्रहरी टोली गएका थिए । तर प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

यद्यपि अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रशासनले जनाएको छ । यसअघि पनि सोही बाल सुधार गृहमा झडप, आगजनी र तोडफोडका घटना भएका थिए । सो घटनामा एक युवकको मृत्यु भएको थियो भने एक दर्जन बढी घाइते भएका थिए ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार ०९:४१

लोकप्रिय