सूचनाको शक्ति - The Power Of Information

        

सिकलसेल नियन्त्रण गर्न दुई पालिकाबीच सहकार्य

सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षरपछि दुबै पालिकाका जनप्रतिनिधिहरु ।

थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान र नियन्त्रण गर्न बाँकेका दुई पालिकाले सहकार्य गर्ने सहमति गरेका छन् । कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाबीच सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान र नियन्त्रणमा समन्वय र सहकार्य गर्नेसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिलसेल ठकुरी, सिकलसेल ल्याव प्रमुख शिव गौतम, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसी, स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठ सम्मेलित समन्वयात्मक बैठकमा सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल र थालेसिमिया रोगको पहिचान र नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर दुबै पालिकाले सामुहिक रुपमा कार्य गर्ने सहमति गरेको बताए । सो निर्णयसँगै अब राप्तीसोनारी गाउँपालिकाबाट संकलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको किसलसेल ल्यावमा परीक्षण गरिनेछ ।

रक्त नमुना जाँचका लागि नमुना संकलनका आधारमा आवश्यक पर्ने केमिकल भने कोहलपुर नगरपालिकालाई राप्तीसोनारीले उपलब्ध गराउने भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले थारु समुदायलाई प्रभावित पारिरहेको सिकलसेल एनिमिया तथा थालेसिमिया रोग कोहलपुर नगरपालिकाको मात्र नभएर बाँकेकै समस्या भएकाले समन्वयमा मात्रै नियन्त्रण गर्न सकिने बताए ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेलको पहिचानका लागि दुबै पालिकाले मिलेर काम गर्ने योजना बनाएको बताए । कोहलपुर नगरपालिकामा हालसम्म करिव १३ हजार सिकलसेल एनिमियाको रक्त नमुना परीक्षण भएको नगरपालिकाले जनाएको छ । त्यसमा सयजना भन्दा बढी सिकलसेल तथा थालेसिमियाका बिरामी भेटिएका छन् । यस्तै राप्तीसोनारीमा तीन हजार ३५० नमुना जाँच भएकोमा ५६ जना सिकलसेलका रोगी र एक जनामा थालेसिमिया देखिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार ०८:०८

लोकप्रिय