२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday

वि.सं. २०८१ सालको दशैं डेढ हप्ता छिटो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस १६ गते सोमबार

आउँदो वर्ष २०८१ सालको दशैं छिटो हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आउँदो दशैं डेढ हप्ता छिटो हुने भएको हो । यो वर्षको दशैं कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ ।

तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ । पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ ।

समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय भने सार्वजनिक भएको छैन । विजया दशमी २६ गते परेको छ । असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ ।

१२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रबार औंशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । १७ गते गोवद्र्धन र म्हःपूजा, १८ गते आइतबार भाइटीकाको साइत तय भएको छ ।

२०८१ सालमा आउँदो वर्ष चन्द्र र सूर्य ग्रहण नरहेको विकास समितिका कार्यकारी निर्देशक एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । समितिले तिथि, मितिसहितको पात्रो तयारी गरेपछि बिदाको सिफारिस गर्न उक्त पात्रो गृह मन्त्रालयमा पठाउने छ ।

विकास समितिले आउँदो वर्ष करिब १७ वटा पञ्चाङ्गकारलाई पात्रो छपाइ गर्न स्वीकृति दिने तयारी गरेको छ । पञ्चाङ्ग पात्रो छापिएपछि गृह मन्त्रालयले बिदाको निर्णयसम्म भित्तेपात्रो प्रकाशन हुने छैन ।

लग्न, साइत, तिथि पर्वलगायतका विषय जानकारी लिनकै लागि पञ्चाङ्ग पात्रो छापिने छ, सरकारले निर्णय गरेपछि मात्र भित्तेपात्रो प्रकाशन गरिने छ । पात्रो र भित्तेपात्रो प्रकाशकले विकास समितिको स्वीकृति लिएर मात्रै पात्रो छपाइ गर्न पाउनेछन् । समितिले तोकेको दस्तुर बुझाएपछि पात्रो छपाइ गर्न पाउने व्यवस्था गरेको छ ।

‘समितिको निर्णयबेगर कसैले पञ्चाङ्ग पात्रो वा भित्तेपात्रो छापे कडा कारबाही गर्नेछौं,’ कार्यकारी निर्देशक ढुंगेलले भने, ‘गृहले सार्वजनिक बिदाको निर्णय सार्वजनिक गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । आउँदो वर्ष वैशाख १ गते शनिबार परेको छ ।’

प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार