भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा निकायका सवारी साधनको लस्कर लाग्यो । सर्वसाधारणले ठाने, ‘प्रधानमन्त्री, राष्ट्रपति वा कोही आउने कार्यक्रम रहेछ ।’ लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बुटवल, सशस्त्र प्रहरी बल बुटवल, गरी सुरक्षा निकायका मात्रै पाँच वटा सवारी साधन लामबद्ध थिए ।
एक दर्जन सरकारी गाडी तैनाथ थियो । नेपाल प्रहरी र सशस्त्रसहित लुम्बिनी प्रदेशको विभिन्न कार्यालयका प्रमुख गरी तीन दर्जन सरकारी कर्मचारी स्वागतका लागि विमानस्थल पुगेका थिए । तर, त्यस दिन प्रधानमन्त्री वा राष्ट्रपति नभई अख्तियार दुरूपयोग अनुसन्धानका आयुक्त जयबहादुर चन्द जाने कार्यक्रम थियो ।
लुम्बिनी प्रदेशमा कार्यरत एक उपसचिवले भने, ‘माननीय आयुक्तज्यूको लागि हामी दुई दर्जन कार्यालय प्रमुख पुगेका थियौं ।’ स्रोतका अनुसार ती कर्मचारी आफैं गएका भने होइनन् । प्रदेशका मुख्यसचिव, सुरक्षा निकायका डिआइजीलाई चन्द आफैंले फोन गर्ने गरेका छन् । अन्य कार्यालय प्रमुखलाई भने उनको सचिवालयबाट फोन जाने गरेको छ ।
एक कार्यालय प्रमुखले भने, ‘आयुक्तज्यूले म आउँदै छु भनेर फोन नै गर्नुभएपछि स्वागतका लागि नजाने कुरै भएन । यो सामान्य कुरा हो ।’ चन्द असोज २४ देखि २६ सम्म लुम्बिनीका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी भएका थिए । उनी पुगेका हरेक जिल्लामा लावालस्कर लगाएर सवारी चलेको पाइयो ।
यसैगरी, आयुक्त चन्द गत २४ असारदेखि १ साउनमा हेटौंडा र बर्दिबास कार्यालयको अनुगमन तथा अन्य कार्यक्रममा सहभागी हुन गएका थिए । बागमती प्रदेशको हेटौंडा र बर्दिवास गएको बेला पनि त्यसैगरी दुई दर्जनभन्दा बढी सरकारी गाडी खटिएका थिए । आयुक्त चन्द गएको बेला सम्बन्धित प्रदेशका प्रहरी प्रमुख, सशस्त्र प्रमुख, मुख्य सचिव तथा सचिव लावा लस्कर लागेर स्वागतमा जाने गरेको एक प्रहरीले बताए ।
चन्द गत २९ जेठ २०८० देखि जेठ ३१ सम्म सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरतिर थिए । त्यो बेला कञ्चनपुरमा शाहीकालमा राजा सवारी भएजस्तो कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूको भीड विमानस्थलमा लागेको एक प्रहरीले बताए । कुनै बेला लोकमानसिंह कार्की प्रमुख आयुक्त भएका बेला यसैगरी सवारी चलाउने गरेका थिए ।
अहिले चन्दले लोकमानलाई बिर्साउने गरी तामझाम गरिरहेको कर्मचारीको गुनासो छ । प्रमुख आयुक्त प्रेमकुमार राई, अन्य आयुक्त किशोरकुमार सिलवाल, डा.हरि पौडेल, डा.सुमित्रा श्रेष्ठ अमात्य पनि उपत्यकाबाहिर जाने गरेका छन् । प्रमुख आयुक्त राईसहित अन्य उपत्यकाबाहिर सामान्य हिसाबले जाने गरेका छन् ।
कोशी प्रदेशका एक कर्मचारीका अनुसार प्रमुख आयुक्त राईले आफ्नो अनुगमन तथा भ्रमणको बेलामा त्यस्तो कुनै स्वागत र एस्कर्टिङ नगर्न निर्देशन नै दिएका छन् । ती कर्मचारीले भने, ‘अनावश्यक एस्कर्टिङ र स्वागत गरियो भने प्रमुख ज्यू त रिसाउनु पो हुन्छ । सर्वसाधारण जसरी उहाँले यात्रा गर्नुहुन्छ ।’
आयुक्त चन्द १० माघ २०७९ देखि माघ २१ २०७९ सम्म हेटौंडा, रसुवा र नुवाकोटको विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यो बेला उनको स्वागतको लागि कर्मचारी, सुरक्षा निकायका प्रमुखहरूको भीड लागेको एक कर्मचारीले बताए । गत १२ चैत २०७९ देखि १५ चैत २०७९सम्म कोशीका विभिन्न कार्यक्रममा चन्द सहभागी हुँदा प्रधानमन्त्री, राष्ट्रपतिको सवारीजत्तिकै तामझाम गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं