सूचनाको शक्ति - The Power Of Information

        

लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध ट्राफिक प्रहरीको कडाइ

लागुऔषध सेवन गरे नगरेको पत्ता लगाउन चालकको परीक्षण गर्दै ट्राफिक प्रहरी ।

पछिल्लो समय बाँकेका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विभिन्न प्रकारका चेकजाँच र सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रुहरुले लागूपदार्थ सेवन गरेको, नगरेको परीक्षणलाई तीव्रता दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले जिल्लामा दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेको नगरेको परीक्षण भइरहेकै बेला हाल आएर लागुपदार्थ सेवन गरे नगरेको पनि परीक्षण सुरु गर्नुका साथै कारवाही पनि अघि बढाएको बताए ।

उनले सीमापारी जानेले लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउँदै आउने गरेको खबर प्राप्त भएकाले भारत जाने र आउने मुख्य चोक ट्राफिक चोक नजिक सो चेकजाँच गरेको बताए । उनले चेकजाँच गर्दा नौ जना सवारी चालक तथा यात्रुहरुले लागुपदार्थ सेवन गरेको पाइएको हुँदा उनीहरुविरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको बताए ।

लागुपदार्थ सेवन गरेको नगरेको पत्ता लगाउन सुरु गरिएको परीक्षण निरन्तर जारी रहने जनाउँदै प्रहरी निरिक्षकसुवेदीले जमुनाहा नाकादेखि उत्तरतर्फ फरक ठाउँ र फरक समयमा यो परीक्षण जारी रहने बताए । ट्राफिक प्रहरीले गति नियन्त्रण र ट्राफिक नियमका बारेमा सवारी चालक र यात्रुलाई सचेत पार्न आवश्यक देखिएकाले अभियान जारी राखेको जनाएको छ ।

बाँकेमा हुने गरेका अधिकांश सवारी दुर्घटना तीव्र गति र मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा हुने गरेको हुँदा त्यसको न्यूनकीरणका लागि ट्राफिक प्रहरीले गति नियन्त्रणमा ध्यान दिनुका साथै मापसे र लापसे गर्नेहरुमाथि कडा निगरानी राख्ने जिल्ला प्रहरी ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १५ पुष २०८०, आइतवार १२:१७

लोकप्रिय