बाँकेका अस्पतालमा ‘स्क्रब टाइफस’ रोगका बिरामी बालबालिका उपचारका लागि आउने क्रम बढेको छ । कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा.रोमा बोहोराले दैनिकजसो ‘स्क्रब टाइफस’का बिरामी बालबालिका अस्पतालमा उपचारका लागि आउने गरेको बताइन् ।
उनले बालबालिकामा ‘स्क्रब टाइफस’ देखिन थालेपछि उपचारका लागि अस्पताल आउने बढ्दै गएका बताइन् । डा.बोहोराका अनुसार ‘स्क्रब टाइफस’ एक किसिमको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ ।
यो रोग माइटमा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने गर्छ । वरिष्ठ बालरोग विशेष डा.बोहोराका अनुसार माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घरवरिपरिको झाडी वा घुर्यान हुने ठाउँमा देखिने गर्छ ।
सबै उमेर समूहका व्यक्तिलाई यसले प्रभावित पार्ने गरेको जनाउँदै डा.बोहोराले समयमा उपचार नभए बिरामीको ज्यानसमेत जाने जोखिम हुने गरेको बताइन् । अर्का बालरोग विशेषज्ञ डा.सकिल अहमदले पनि केही दिनयता ‘स्क्रब टाइफस’बाट पीडित भएका बालबालिका उपचारका लागि आफ्नो क्लिनिकमा आउने क्रम बढेको बताए ।
उनले बालबालिकालाई धेरै ज्वरो आएमा, आँखा रातो भएमा र झाडापखाला लागेमा तत्काल चिकित्सकलाई जँचाउनुपर्ने बताए । खेतबारीमा काम गर्दा, वनजङ्गल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउनुका साथै घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्नुपर्ने, खाट वा अग्लो ठाउँमा सुत्नुपर्ने सुझाव चिकित्सकले सर्वसाधारणलाई दिएका छन् ।
‘स्क्रब टाइफस’ लागेको शङ्का लागेमा उपचारका लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्ने जनाउँदै औषधी सेवनपछि यो रोग निको हुने नेपालगन्जका अर्का बालरोग विशेषज्ञ डा. पीयूष कनोडियाले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके