सूचनाको शक्ति - The Power Of Information

        

रक्सीको ‘सुक्खा याम’

लामो अध्ययनपछि बेलायतीहरूले १० वर्षअघि जनवरीलाई रक्सीको सुक्खा याम (ड्राई जनवरी) मनाउन थालेका थिए । यही कुराको सिको गर्दै सन् २०२० यता फ्रान्सेलीहरूले रक्सीको कुलत घटाउन सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् ।

रक्सी प्रतिबन्ध गर्न अहिलेलाई गाह्रो भए पनि कम्तीमा एक महिनाभरि ‘रक्सीको सुख्खायाम’ घोषणा गर्न उनीहरूले आग्रह गरेका छन् । एउटा अध्ययनमा ६० प्रतिशत फ्रान्सेलीहरूले नयाँ वर्षमा के छाड्न चाहनुहुन्छ भन्ने प्रश्नमा रक्सी भनी उत्तर दिएका थिए ।

रक्सीको खपतमा युरोप निकै अगाडि छ । अभियन्ताहरू भन्छन्, ‘पूरै रक्सी अहिले बन्द गरिहाल्नु पर्दैन । कम्तीमा एक महिना रक्सी पसललाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिदिए मात्र पनि पुग्छ ।’ जुन मुलुकमा सरकारप्रति जनताको गहिरो विश्वास छ, त्यहाँ सरकारले घोषणा गरिदिंदा मात्र पनि पुग्ने हुन्छ ।

त्यसैले अभियन्ताले फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोनले यसबारे केही बोल्न ढिला भएको टिप्पणी गर्न थालेका छन् । दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी रक्सीप्रेमी राष्ट्रपतिका रूपमा म्याक्रोँ चिनिन्छन् । उनलाई दिनदिनै खानामा वाइन चाहिन्छ ।

द गार्डियन अखबारका अनुसार संसारमै अमेरिका सबैभन्दा बढी रक्सी खपत हुने मुलुक हो । दोस्रोमा फ्रान्स पर्छ । फ्रान्समा रक्सी कारखानाले पाँच लाखलाई रोजगारी दिएको छ । फ्रान्सको रक्सी संस्कृति कस्तो छ भने ७० प्रतिशत अभिभावक चाडपर्वका बेला आफ्ना किशोर सन्तानले रक्सी खाँदा फरक पर्दैन भन्ने ठान्छन् ।

त्यसो त फ्रान्समा सरकार चुरोट विरोधी महिनाका रूपमा नोभेम्बरभरि प्रचारप्रसार गर्छ तर रक्सीमा भने मौन बस्ने गर्छ । निरन्तर रक्सी पिउनेहरूले एक महिना रक्सी छाड्दाका केही सकारात्मक तथ्यांक देखापरेको बेलायती उदाहरणलाई फ्रान्सेलीहरूले पेस गरिरहेका छन् ।

रक्सीबिनाका एक महिनाले सर्वसाधारणको रक्तचापमा सुधार आएको, राम्रो निद्रा परेको जस्ता सकारात्मक प्रभाव देखिएको थियो । अभियन्ताहरू भन्छन्, ‘हामीले रक्सी प्रतिबन्ध लगाउन खोजेको होइन, यसप्रति जागरुक बनाउन खोजेको हो किनभने रक्सीका अनेकन् बेफाइदा छन् । ती बेफाइदाबारे सर्वसाधारणलाई जागरुक बनाउन ढिला भइसक्यो ।’

फ्रान्समा वार्षिक रूपमा ४२ हजार मृत्यु रक्सी सम्बन्धित छन् । यता रक्सी उत्पादकहरूले भने सरकारले कुनै निर्देशिका जारी गर्न जरुरी नभएको बताएका छन् । उनीहरूको तर्क छ, ‘सातामा १० गिलास रक्सी खानु अनुपयुक्त नहुने सरकारको निर्देशिका छ । ९० प्रतिशतले यही कुरा मानिरहेका छन् । पछिल्ला ६० वर्षमा पहिलेको तुलनामा ६० प्रतिशत रक्सी खपत घटिसकेको छ ।’

स्रोत : अच्युत कोइराला । नागरिक
प्रकाशित मिति : १५ पुष २०८०, आइतवार ०९:३९

लोकप्रिय