सूचनाको शक्ति - The Power Of Information

        

चिसोले दुई दशकदेखि गाउँ नै शून्य

मुगु जिल्लाको पूर्वीउत्तरी भेगमा पर्ने कार्मारोङ्ग गाउँपालिका–१ मा पर्ने हिमालको खोंचमा रहेको एक गाउँ चिसोकोे कारण देखाउँदै बसाई सरेपछि गाउँ नै मानवरहित भएको छ । वारिपारि ठुलाठुला हिमाल, बीच खोल्सामा बस्ती, जहाँ दिनको तिन घण्टा मात्र बस्तीमा घाम लाग्ने हुँदा चिसोको कारण २० वर्षदेखि स्थानीयले गाउँ छाडे ।

स्थानीयले गाउँ छाडेपछि मुगुको उच्च हिमाली बस्तीमा रहेको एउटा गाउँ डेढ दशकदेखि मानवरहित भएको हो । ७५ घरधुरी रहेको वाङग्री गाउँमा वर्षमा तीन महिना चैत्र, वैशाख, जेठमा मात्र घाम लाग्ने गरे पनि हिउँदमा भने दुई घण्टामात्र गाउँमा घाम लाग्ने गर्छ ।

साथै हिउँ जमिरहने भएपछि चिसो अत्याधिक हुने हुँदा गाउँमा बस्न कठिनाई झेल्नु परेकाले स्थानीय सिङ्गो गाउँवासी नै बस्ती सरेर जुम्लाको चौधविस, भारतको कुल्लुमनाली र केही काठमाडौंतिर बसाई सरेका हुन् । वैशाख, जेठ, असार महिना बाहेक अन्य महिना पाल्न चौपायलाई कठिनाई हुँदै आएको थियो ।

मान्छेलाई पनि चिसोले असर पार्दै जाने भएकाले उक्त गाउँमा भिरालो जमिन र खाद्यन्न उत्पादनमा आलु, फापर बाहेक केही नहुने हुँदा खाद्यान्न जोहो गर्न कठिनाई झेल्दै आएकाले बाध्य भएर गाउँ छाडेको स्थानीय वाङग्रीवासी गुरुछिरीङ तामाङले जानकारी दिए ।

गाउँलेहरुले जाडो छल्नकै लागि गएको ६० सालबाटै एक, दुई घरधुरी गरेर गाउँ छाड्दै जाँदा हाल आएर गाउँमा स्थानीयबासी शुन्य भएको तामाङले बताए । उनले बढी गाउँबासी जुम्लाको चौधबिसमा बसाई सरेको तामाङले बताए ।

उक्त वाङग्री गाउँ जिल्ला सदरमुकामदेखि दुई दिन पैदल यात्रामा पुगिन्छ । गाउँमा रहेको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घरहरु भत्किदै गइरहेका छन् । बसाई सरेर गए पनि चुनावमा मतदान गर्न र जडीवुटी संकलन गर्न गर्मी सिजनमा गाउँ आउने गर्छन् ।

साथै गाउँपालिकाको वडामा हुने विकास निर्माणको काम सम्पन्न गर्न जेठ महिनामा बस्तीमा एक महिनाका लागि मात्र गाउँले आउने गरेको कार्मारोङ गाउँपालिका अध्यक्ष छिरीङ क्याप्ने लामाले बताए । यहाँका वनपाखामा जडीवुटी तथा खनिज पचुर मात्रामा पाइने गर्दछ । साथै वन्यजन्तुको पछिल्लो समयमा वढ्दो चोरी शिकार हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : १५ पुष २०८०, आइतवार ०९:०८

लोकप्रिय