२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

विद्युत् महसुल नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकामा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना बापतको रु ४७ करोड बक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । उद्योगले तिर्नुपर्ने विद्युत् महसुल तिर्न आनाकानी गरेपछि लाइन काटिएको हो ।

‘डेडिकेटेड एवं ट्रंक लाइनबाट अग्नि सिमेन्टले विद्युत् उपभोग गरिरहेको थियो,’ उनले भने, ‘पटक पटक खबर गर्दा अटेरी गरेपछि लाइन काटेका हौं ।’ प्राधिकरणले पुस १३ गतेदेखि विद्युत् लाइन काटेको हो । उद्योगले प्राधिकरणलाई करिब ४७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरण प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार