सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्रीको राजीनामा माग्दै दैलेखमा विरोध प्रदर्शन

शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै दैलेखमा पनि प्रदर्शन भएको छ । दैलेखका युवाहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामाको माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा युवाहरुले शुक्रबार प्रहरीको कुटाइबाट दैलेख र अछामका गरी दुईजना युवाको मृत्यु भएको भन्दै गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन् ।

शनिवार दैलेख बजारमा हत्याविरुद्ध उत्रिएका युवाहरूले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए । युवाहरूले हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन् । उनीहरूले मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अहिलेको सरकारले जनअपेक्षाअनुसार काम नगरेको समेत आरोप लगाए ।

युवाहरूले अहिलेको सरकार जनताको समस्या समाधानभन्दा पनि सुन तस्कर लगायतका भ्रष्टाचारी जोगाउने काममा लागेको बताए । उनीहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम नरोकिने बताएका छन् । कोरियाली भाषा परीक्षाको विषयमा प्रदर्शनका क्रममा शुक्रवार प्रदर्शनकारीले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए । त्यसपछि प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र गोली चलाउँदा दुईजना युवाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ पुष २०८०, शनिबार १७:३५

लोकप्रिय