सूचनाको शक्ति - The Power Of Information

        

बालकुमारी घटना

दुई युवाको मृत्युपछि ठाउँठाउँमा प्रदर्शन, घटनाबारे के भन्छन् दलहरू ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए ।’

सुर्खेतमा मृतकका जिल्लावासीहरूको अगुवाइमा आयोजना गरिएको विरोध कार्यक्रम ।

शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएपछि शनिवार समेत राजधानीसहित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शनहरू भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार बिहानै सत्ता गठबन्धनका नेताहरूसँग घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।

दक्षिण कोरियामा रोजगारीको योग्यताका लागि लिइने भाषा परीक्षासम्बन्धी सरकारी नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । उनीहरू दुवै जना दक्षिण कोरियामा वैदेशिक रोजगारीमा जाने तयारीका लागि कोरियाली भाषाको परीक्षाको तयारी गरिरहेका थिए ।

प्रशासनले युवाहरूको ज्यान जाने गरी दमन गरेको भन्दै सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस समर्थित विद्यार्थी सङ्गठनले शनिवार बिहान पुल्चोकस्थित मन्त्री निवास अगाडी प्रदर्शन गरेको छ । एक जना मृतकका जिल्लाबासी युवाहरूको अगुवाईमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि शनिवार प्रदर्शन भएका छन् ।

सुर्खेतमा गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको राजीनामा माग गर्दै प्लेकार्डसहित भेला भएका मानिसहरूले टायर जलाएर प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी सङ्गठनको झन्डा बोकेका युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरिएको प्लेकार्ड समेत बोकेका थिए । काठमाडौंको माइतिघरमा भएका प्रदर्शनबाट केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘राजीनामाको कुरा बालुवाटारमा उठेन’

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका नेताहरूले पार्टीको भातृ सङ्गठनले जस्तो गृहमन्त्रीको राजीनामा नमागेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए । ‘त्यहाँ आ–आफ्ना विचार आए । तर राजीनामाको कुरा कसैले गरेन । प्रधानमन्त्रीले छानबिन गर्छु भन्नुभएको छ,’ केसीले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि गठबन्धनको बैठकमा गृहमन्त्रीको राजीनामाबारे कसैले पनि कुरा नउठाएको बताए । ‘गठबन्धन दलका नेताहरूलाई प्रधानमन्त्रीले घटनाबारे जानकारी गराएर कसरी यस्तो भयो भन्नेबारे निष्पक्ष छानबिन गर्ने बताउनुभएको छ,’ आचार्यले भने ।

विद्यार्थीहरूको प्रदर्शन

केसीका अनुसार प्रधानमन्त्रीले घटनाबारे छानबिनका लागि समिति बनाइसकिएको जानकारी गठबन्धनका नेताहरूलाई गराएका थिए । प्रधानमन्त्रीले त्यसअघि गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिएका थिए । उनले घटनाबारे निष्पक्ष अनुसन्धान गर्न पनि गृह मन्त्रालय र अधिकारीहरूलाई निर्देशन दिएको आचार्यले बताए ।

गृह मन्त्रालयले शुक्रवार नै बालकुमारीमा भएको हिंसा र त्यसमा भएको मानवीय एवं भौतिक क्षतिको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा एक जना नेपाल प्रहरीका वरिष्ठ अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी छन् ।

तर एक जना मृतकका आफन्तले भने जिल्ला प्रशासन कार्यालयकै अधिकारी समितिमा रहँदा छानबिन निष्पक्ष हुनेमा आशङ्का गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने प्रमुख जिल्ला अधिकारीको निर्णय र प्रशासनका काम कारबाहीबारे पनि जानकारी आवश्यक पर्ने भएकाले सहायक प्रमुख जिल्ला अधिकारीलाई समितिमा राखिएको बताए ।

दलहरूले के भने ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले युवाहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनकारी माथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गर्दछ । विना भेदभाव परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । साथै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न हार्दिक अपिल गर्दछ ।”

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पनि ‘घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुका साथै घटनामा घाइते भएकाहरूको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न’ सरकारसँग माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनालाई लिएर गृह मन्त्रालयको आलोचना गरेका छन् ।

‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगार युवाहरूमाथि सरकारले ‘संयमता गुमाएर गोली प्रहार गरेको’ भन्दै त्यसलाई गम्भीर चिन्ताको विषय भनेका छन् ।

बालकुमारीमा किन झडप भयो ?

दक्षिण कोरियामा ईपीएस कोटाअन्तर्गत उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि जान नेपालमा लिइने भाषा परीक्षामा यसअघि ‘शीप बिल्डिङ’ परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका युवाहरूले आफूहरूलाई पनि सहभागी गराउनुपर्ने माग राखेर प्रदर्शनमा उत्रिएका थिए । ईपीएस शाखाले कोरियाली रोजगारदाताको नीति देखाउँदै उनीहरूलाई एक वर्षभित्र हुने अर्को भाषा परीक्षामा सहभागी नगराउने निर्णय गरेको थियो ।

ईपीएस शाखाले पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा अनुत्तीर्णहरूलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि लिइने भाषा परीक्षामा सहभागी हुन रोक लगाएकोप्रति युवाहरू असन्तुष्ट थिए । तीमध्ये १८ जनाले उक्त निर्णयलाई अदालतमा चुनौती दिएका थिए । पाटन उच्च अदालतको आदेशपछि ईपीएस शाखाले अदालतमा मुद्दा दायर गर्ने आवेदकलाई मात्र परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो ।

अदालतले शुक्रवार अपराह्न पुनः सबैलाई यस्तो परीक्षामा सहभागी गराउन आदेश दिनु अघिसम्म ललितपुरमा दुई जना युवाले ज्यान गुमाइसकेका थिए । ईपीएस शाखाको निर्णय विरुद्ध प्रदर्शन गरिरहेका युवाहरूले बालकुमारीमा सरकारका एक जना मन्त्री सवार गाडीमा आगजनी गरेका थिए । प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले बल प्रयोग गर्दा एक जनालाई गोली लागेको बताइएको छ । अर्का एक जनाको मृत्युको कारण पुष्टि हुन सकेको छैन । प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर बनाउने क्रममा २३ जनालाई नियन्त्रणमा लिएको थियो ।

स्रोत : बीबीसी
प्रकाशित मिति : १४ पुष २०८०, शनिबार १७:०८

लोकप्रिय