दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, नरैनापुर लगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् ।
नेपालगन्जमा हरेक दिन बिहान दुई–तीन घण्टा शीतलहर चल्न थालेको छ । ‘बिहानैदेखिको हुस्सुले अत्यधिक चिसो भएको छ,’ नेपालगन्जका स्थानीय रामसुहावन यादवले भने, ‘निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्किने सकिएको छैन ।’ यहाँका मान्छेहरू अत्यावश्यक काममा बाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।
अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले गर्दा काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।’
दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण भर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडिया बताउँछन् । आगो बालेर यहाँका नागरिकले चिसो भगाउने प्रयास गरेका छन् ।
‘घरभन्दा बाहिर जान सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसैले घरमा आगो तापेर बसेको छु ।’ चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेका हुन् ।
भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा.संकेत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घरोगीलाई समस्या भएको छ । केही दिनअघि बिहान बाक्लो हुस्सु लाग्ने गरेको भए पनि दिउँसो मौसम सफा हुँदै गएको थियो, तर दुई दिनदेखि निरन्तर घाम नलागेपछि चिसो बढेको छ ।
सत्यपाटी