सूचनाको शक्ति - The Power Of Information

        

कृष्ण पहाडीसहितका २२ जना अधिकारकर्मी पक्राउ

 एनसेल घोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्नु पर्ने लगायतको आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा गरेको धर्नाबाट प्रहरीले २२ जना अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी  पक्राउ परेका छन् ।

यसैगरी ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य, र आदर्श क्षेत्रीसहित २२ जनालाई पक्राउ गरेको समाजले जनाएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । एनसेलको शेयर बिक्री हुँदा कर छली भएको घटनालाई समाजले महाघोटाला र राज्य विरुद्धको अपराध भन्दै आएको छ । र उसले निरन्तर प्रदर्शन पनि गर्दै आएको छ ।

घोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको भन्दै शान्ति समाजले विश्वसनीय न्यायीक छानविन आयोगको माग गर्दै आएको छ ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १४:२४

लोकप्रिय