सूचनाको शक्ति - The Power Of Information

        

मानवीय त्रुटिले पोखरामा विमान दुर्घटना भएको निष्कर्ष

गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो ।

‘जहाज अवतरणको क्रममा ककपिटमा रहेका पाइलटले फ्लेप (बिउ) लिभर तान्नुपर्ने थियो तर, कन्डिसन लिभर तानेको पाइयो । यसले गर्दा जहाजस्थिर हुनसकेन,’ जहाज दुर्घटनाको कारण बताउँदै आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले भने, ‘पाइलटका लागि नयाँ विमानस्थल थियो । धावनमार्ग वरिपरी टेरेन्ट पनि थियो । यो पनि दुर्घटनाको कारक थियो । उक्त दुर्घटनामा मानवीय पक्ष बढी जिम्मेवार देखिन्छ ।’

एटीआर–७२ हवाईजहाज दुर्घटनाको मुख्य कारण मानवीय कमजोरी देखिएको आयोगका अध्यक्ष नगेन्द्रप्रसाद घिमिरेले बताए । अध्यक्ष घिमिरेका अनुसार जहाज दुर्घटनाको अर्को कारणमा नयाँ विमानस्थल पूर्ण तयारी नभइकन सञ्चालनमा ल्याइनु पनि हो । प्रतिवेदन ग्रहण गर्दै मन्त्री किरातीले प्रतिवेदनमा दिइएका सुझावका विषयमा सञ्चालक, नियामक निकाय र मन्त्रालय तिनै पक्षले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने विश्वास व्यक्त गरे ।

आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठ बुँदे सुझाव दिएको छ । विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । २०७९ माघ १ गते यति एयरलाइन्सको एटीआर–७२ कल साइन ९ एन–एनएनसी जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनासकारी दुर्घटना हो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ०८:५१

लोकप्रिय