सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा रक्तदानका लागि उत्प्रेरणा अभियान गरिने

‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ रगत सङ्कलन गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गत रहेको रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रक्तदानसम्बन्धी उत्प्रेरणा अभियान सुरु गर्ने भएको छ।

रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रगतको अभाव हुन नदिन तथा अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गर्न लागेको जनाएको छ।

व्यवस्थापन समितिको बिहीबार नेपालगन्जमा बसेको बैठकले बिरामीलाई चाहिने रगत अभाव हुन नदिन गाउँ गाउँमा उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिने तथा धार्मिक सामाजिक सद्भाव समितिसँग छलफल गरी समुदाय स्तरबाट रक्तदान गर्नका लागि पहल गर्न आग्रह गरिने निर्णय गरेको समितिका सदस्य एवं मानवअधिकारकर्मी आलम खानले जानकारी दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झनाको प्रमुख आतिथ्यतामा व्यवस्थापन समितिको आ.ब. ०८१/०८२ को प्रस्तावित वार्षिक कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उहाँले बताउनुभयो।

सभापति सम्झनाले २५ पटक रक्तदान गर्ने रक्तदातालाई आजीवन सदस्यता दिने र सबैभन्दा बढी रक्तदान गर्ने महिला र पुरुषलाई सम्मान गरिने परिपाटी बसाउनुका साथै दुर्लभ रक्तदातालाई समेत सम्मान गर्ने गरी रेडक्रसले योजना बनाएको बताउनुभयो।

अभियान अन्तर्गत बाँके जिल्लाका विभिन्न विद्यालय, क्याम्पसमा गएर युवालाई रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने र सम्बन्धित निकायसँग सहकार्य गरी रक्तदान कार्यक्रम समेत गरिने समितिका अर्का सदस्य सुनिलसिंह हमालले बताउनुभयो।

समितिका सभापति राजकुमार वर्माले रक्तदान गर्नेतर्फ केन्द्रित हुन स्थानीय सरकारलाई जवाफदेही बनाउन जरुरी रहेको उल्लेख गर्दै स्थानीय सरकारले आफ्नो वार्षिक कार्यक्रममा ३–३ महिनामा रक्तदान गर्ने योजना बनाउनुपर्ने बताउनुभयो।

रक्तदान उत्प्रेरणाका लागि विभिन्न संघ संस्था, स्थानीय निकाय एवं सामाजिक अभियान्ताहरुसँग समन्वय गरी सहकार्य गरिने समितिले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी बाँकेले आ.ब. ०७९/८० मा १७९१५ युनिट रगत वितरण गर्नुका साथै आ.ब. ०८०/८१ मा १५५०० युनिट रगत सङ्कलन गरी १९५०० जनालाई रगत वितरण गर्ने लक्ष्य राखिए अनुसार काम गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १६:३९

लोकप्रिय