सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा त्रिपालमुनी बसेकी सुत्केरीको चिसोबाट मृत्यु

जाजरकोटमा एक सुत्केरी महिलाको चिसोबाट मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ ।

मङ्सिर १७ गते सुत्केरी भएर दुई छोरा जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

सुत्केरी कल्पना बिरामी परेपछि स्वास्थ्य चौकी पैकमा लिँदै गर्दा मृत्यु भएको अध्यक्ष बस्नेतले बताए । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा कल्पनाको मृत्यु भएको हो ।

भूकम्पले घरवासबिहीन भएपछि पालमुनी रात बिताउने गरेकी कल्पनाले शिशुलाई सेकाउने आगो, पोषण युक्त खानेकुराको अभावका कारण कष्टपूर्ण जीवन बिताउनु परेको थियो । समयमा अस्थायी आवासको व्यवस्था नगर्दा सुत्केरीको ज्यान गएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १४:३६

लोकप्रिय