जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार ख्रीष्टमस डे र मङ्गलबार उँधौली पर्व-धान्य पूर्णिमाको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा पनि जिल्लाका केही सरकारी कार्यालयहरूमा काम कारबाही भए नभएको बारेमा छड्के अनुगमन तथा निरीक्षण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल सरकारले प्रकाशित गरेको राजपत्र अनुसार सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था बमोजिम तोकिएका कार्यालयहरूले तोकिएका केही सेवाहरू सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गर्नुपर्ने हुँदा बिदाका दिनमा जनतालाई सेवा प्रवाह भए नभएको सम्बन्धमा सोमबार र मङ्गलवार केही कार्यालयहरूको छड्के अनुगमन तथा निरीक्षण गरिएको बताउनुभयो ।
सार्वजनिक बिदाका दिनमा मालपोत, नापी, यातायात, करलगायतका अन्य कार्यालयहरूले जनतालाई सेवा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ र नायव सुब्बा बेदेस्वर गौतमको टोलीले सोमबार विभिन्न आठ वटा सरकारी कार्यालय र मङ्गबार नौ वटा सरकारी कार्यालयको निरीक्षण गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
प्रजिअ पोखरेलका अनुसार सोमबारको अनुगमन तथा निरीक्षणका क्रममा नापी कार्यालय कोहलपुर, यातायात कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय कोहलपुर, मालपोत कार्यालय नेपालगन्ज र नापी कार्यालय नेपालगन्जले कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गरेको पाइएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय र इलाका प्रशासन कार्यालय कोहलपुरले सेवा सञ्चालन गरेको नपाइएकाले आइन्दा सार्वजनिक बिदाका दिनमा सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी मङ्गलबार अनुगमन गरिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपाल टेलिकमको कार्यालय, नेपाल बैङ्क लिमिटेड सिटी अफिसको कार्यालय, जिल्ला हुलाक कार्यालय, नेपाल विद्युत् प्राधिकरण र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गरेको पाइएको प्रजिअ पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार भेटेरिनरी अस्पतालमा सेवा सञ्चालन नभएको पाइएकाले तत्कालै कार्यालय सञ्चालन गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको तथा सङ्घीय खानेपानी आयोजनामा सेवा सञ्चालन नभएको पाइएपछि सेवा प्रवाह गर्नका लागि व्यवस्था मिलाउन निर्देशन दिइएको थियो ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनमा सेवा निरन्तर प्रवाह गरिरहेको बताउँदै प्रजिअ पोखरेलले प्रशासन कार्यालय जिल्लाको एक नियामक निकायको हैसियतले विभिन्न सरकारी कार्यालयको निरीक्षण गरिएको र ती कार्यालयले सबै बिदाका दिनमा जनतालाई सेवा प्रवाह दिनुपर्ने बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके