सूचनाको शक्ति - The Power Of Information

        

आयुर्वेद स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा

आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन बाँकेको कोहलपुर नगरपालिका –१२ स्थित नेपाल राष्ट्रिय मावि खडकवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

कोहलपुर नगरपालिका आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन भएको सो निःशुल्क स्वास्थ्य शिविरमा ६५१ जना विभिन्न रोगका बिरामीले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र कोहलपुरका प्रमुख उदिप श्रेष्ठले बताउनुभयो ।

उहाँले ओपीडी सेवा लिने विरामीको संख्या सबैभन्दा धेरै रहेको जनाउँदै ४०१ जनाले ओपीडी सेवा लिएको बताउनुभयो । त्यसमा महिलाको संख्या २६२ र पुरुषको संख्या १३९ रहेको थियो ।

प्रमुख श्रेष्ठका अनुसार त्यसैगरी उपचारात्मक योग सेवा ४० जनाले लिएका छन् भने ७३ जनाको सुगर परीक्षण गरिएको छ । यस्तै पञ्चकर्म सेवा ५६ जनाले, जेष्ठ नागरिक सेवा ६२ जनाले र स्तनपायी (प्रसूति महिलालाई दुग्धवर्धक औषधि वितरण) सेवा १९ जनाले लिएको पनि केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो ।

आयुर्वेदिक चिकित्सक डा. विपी रेग्मी, डा. गीता रेग्मीसहितको स्वास्थ्यकर्मीको टिमले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । कोहलपुर –१२ र १३ लाई लक्षितगरी आयोजना गरिएको सो शिविरको कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद विकले उद्घाटन गर्नुभएको थियो ।

कोहलपुर नगरपालिका १२ का वडा सदस्य पानसरा बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा १३ का वडाअध्यक्ष डम्वर खड्का, अन्य जनप्रतिनिधि, बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

आयुर्वेद औषधिको कुनै पनि साइड इफेक्ट नभएको र यसले रोगलाई जरैबाट निर्मुल पार्ने भएकाले बढीभन्दा बढीलाई यो पद्धतिको उपचारमा संलग्न हुन आग्रह गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र कोहलपुरका प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १०:५४

लोकप्रिय