सूचनाको शक्ति - The Power Of Information

        

बुटवल-पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ-जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

बैठकको निर्णयमा लेखिएको छ, ‘…निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले मिति २०८०।०९।१६ गते सोमबारदेखि १०० दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरियो ।’

यो अवधिमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन सन्चालनमा भने रोक नलगाउन आयोजना कार्यालयलाई भनिएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १०:४२

लोकप्रिय