सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपको मुद्दामा आज अन्तिम बहसको सम्भावना कति?

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा बहस नोट बुझाएपछिको अन्तिम पेसी आइतबार दोस्रो पटक हुँदैछ।

यसअघि गत २४ मंसिरमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमा नै मुद्दाको सुनुवाइ रहेको भए पनि बार एसोसिएसनको सम्मेलनको कारण देखाउँदै सन्दीपका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका थिए।

त्यसपछि ८ मंसिर (आज) का लागि पेशी तोकिएको हो। यद्यपि आज अन्तिम सुनुवाइ हुने सम्भावना प्रबल रहेको छ। यदि सुरुवातमा नै सन्दीपको पेशी परेमा आज बहसको सम्भावना बलियो छ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले आइतबार बहसको सम्भावना बलियो रहेको बताए। उनले भने, ‘आज फाइनल बहस हुने सम्भावना बलियो छ। हामी हाम्रो तर्फबाट तयार छौं।’

सन्दीपको बलात्कार मुद्दामा गत २३ कात्तिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुन व्यवसायीले लिखित रूपमा बहस नोट अदालतसमक्ष प्रस्तुत गरेका थिए।

सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भए पनि गत २३ कात्तिकमा भने बहस नोट माग गरेको थियो।

विभिन्न बहानामा पटक-पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमिरेको इजलासले गत २३ कात्तिकमा दुबै पक्षलाई २२ मंसिरभित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा लामो समयदेखि चलिरहेको छ।

गत वर्षको १५ फागुनमा नै सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिँदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो।

तर उक्त आदेश दिएको ९ महिना बितिसक्दा समेत मुद्दाले किनारा पाउन सकेको छैन।

प्रकाशित मिति : ८ पुष २०८०, आइतवार ११:०२

लोकप्रिय