सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा धान खरिद लक्ष्यभन्दा निकै कम

बाँकेमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यका साथ यस वर्ष धान खरिद शुरु गरिए पनि आठ हजार क्विन्टल मात्र धान खरिद भएको छ । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत मङ्सिर ६ गतेबाट धान खरिद शुरु गरेकोमा २०० जना किसानले मात्र कम्पनीमा पुगेर आठ हजार क्विन्टल धान बिक्री गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले कम्पनीले ७ हजार क्विन्टल मध्यम र एक हजार क्विन्टल मोटो धान गरेर आठ हजार क्विन्टल धान मात्र खरिद गरेको बताए । उनले गत केही दिनदेखि किसानहरु धान विक्री गर्न आउन छाडेको जनाउँदै अब थप धान खरिद हुने सम्भावना नरहेको बताए ।

धान बिक्रीका लागि नाम दर्ता गराएका केही किसान पनि धान बिक्रीका लागि नआएको प्रमुख लामिछानेको भनाइ छ । उनले एकजना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद शुरु गरिएकोमा जिल्लाका २०० किसानको धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

यस वर्ष बाँकेमा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान गरेर ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा धेरै कम धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ कायम गरेको थियो ।

कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा शुरुमा धान विक्री गर्न आएका अधिकांश किसानले कम्पनीले ढिलो गरी खरिद शुरु गरेको प्रतिक्रिया दिएका थिए । तर पछि धेरै किसान धान विक्रीका लागि नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार १०:२०

लोकप्रिय