हुम्लाको दक्षिणी क्षेत्रका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । सलीसल्लामा निर्माण भएको बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेसँगै ती गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका हुन् ।
चङ्खेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि नयाँ बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । यसअघि अदानचुली र ताँजाकोट गाउँपालिका जोडिइसकेका थिए । यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे ।
बेलिब्रिजको लम्बाइ ४८.७६८ मिटर रहेको छ भने ४.२० मिटर चौडा छ । गत जेठ १३ गते बेलिब्रिज निर्माणका लागि कङ्ग्री निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो । यसका लागि एक करोड ८६ लाख ७२ हजार ४६० रुपियाँ लागेको छ ।
बेलिब्रिज उद्घाटनपछि मन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण नेपाल सरकारको यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यलाई सघाउ पुर्याएको बताए । उनले अब नेपालको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालले नजोडिनेमा हुम्ला रहेको र त्यो पनि ढिलोमा आगामी असार मसान्तसम्म जोडिने ठोकुवा गरे ।
उनले सदरमुकाम सिमकोट सडक जोड्नका लागि चट्टानी भिर छारे क्षेत्रमा नेपाली सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा एउटा बेलिब्रिज निर्माण अगाडि बढेको बताए । उहाँले वर्तमान सरकारले विकासलाई प्राथमिकतामा दिएर काम गरेकाले यो बेलिब्रिज समयमै निर्माण भएको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोड्नका लागि मन्त्री र सचिवहरूको मन दुख्नुपर्ने र त्यो हुन सके विकासले गति लिने बताए । उनले विकासका लागि जनता पनि सहयोगी हुन आवश्यक रहेको बताए ।
हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद छिरिङ डम्डुल लामाले निर्वाचनमा गरिएको एउटा वाचा सलीसल्लामा पुल निर्माण भएबाट पूरा भएको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पुल उद्घाटन गर्न आएजस्तै सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने कार्यक्रमको उद्घाटन गर्न आउन आतुर रहेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । हुम्ला