२०८३ भदौ २७ , शनिबार 12, September 2026, Saturday

सेनामा उमेरको लफडै लफडा

भावी सेनापतिको लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेले उमेर ढाँटेको पुष्टि भएपछि दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले मंसिर पहिलो साता स्वीकृत गरे लगत्तै अहिले फेरि तीन जना जर्नेलको उमेर विवाद सार्वजनिक भएको छ ।

यो विवाद भने अरुको भन्दा पृथक देखिएको सैनिक अधिकारीहरू बताउँछन् । अरुले सेवा लम्ब्याउन जन्ममिति फेरेका थिए तर सन्तोषबल्लभ पौडेल, दीपक बानियाँ र पवन घिमिरेले १८ वर्ष उमेरै नपुगी सेवा प्रवेश गरेको देखिन्छ,’ एक जना कर्णेलले बताए ।

स्रोतका अनुसार पवन र सन्तोषको दुई तारेमा बढुवाको निम्ति रक्षा मन्त्रालयमा लेखेर पठाइसकिएको छ । बानियाँ यसअघि नै उपरथी भइसकेका छन् । उनी तीनतारे जर्नेलको लाइनमा छन् । सैनिक मुख्यालयले भने तीनै जनाको उमेर विवाद सम्बन्धमा रक्षालाई ‘त्यस्तो होइन’ भनेर लेखेको बताइन्छ ।

पौडेलको दुई तारेबाट माथि जाने सम्भावना ५० प्रतिशत छ भने घिमिरे बढीमा दुई तारेमा सीमित हुने कतिपयको बुझाइ छ । स्रोत भन्छ, ‘पौडेल र घिमिरे तक्माका आडमा बढुवा भएका हुन् । प्रमुख सेनानीमा तक्मा नदिइएको भए बेलैमा महासेनानी हुन महाभारत थियो । यी सबैलाई गौरव समशेरको पालामा उकासिएको हो ।’

सेनाभित्र यस्ता काम प्रायः ठूलाबडाका छोरा वा ज्वाइँ र त्यो पनि माथिल्लो पदमा पुगेकाको मात्रै हुने गरेको खुल्ने पाइन्छ । माथिल्लो ओहोदामा पुगेका एकाध गाउँलेका छोरा ज्वाइँको हकमा भने हालसम्म खासै समस्या देखिएको छैन ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार