२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

मेवा बेचेर मासिक डेढ लाख कमाउँछन् हिरालाल

सत्यपाटीसत्यपाटी । रामेछाप । २०८० पुस ६ गते शुक्रबार

रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए ।

रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब ५०० मेवाका बोट लगाइएको उनले बताए । सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उनले जानकारी दिए । आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाएका छन् ।

उनका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्ष अघिदेखि शुरु गरेको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लागेका हुन् । कृषक आचार्यले भने, ‘पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा १५० केजीसम्म फल्ने गरेको छ ।’

उनका अनुसार यसको होलसेल मूल्यमा रू १२० प्रतिकिलो बिक्री हुने गरेको छ । एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उनले बताए । बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो ।

उनले भने, ‘अरु रोजगारीका लागि विदेश जान्छन् । म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।’ आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिए । नमूनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उनले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार