सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रशासनको सशक्त अनुगमन, उपभोक्तामा सरकार भएको अनुभूति

बाँके प्रशासनले बजार अनुगमनलाई दैनिक रुपमा तिब्रताका साथ अगाडि बढाईरहँदा उपभोक्ताको हित विपरीत कालोबजारी गरी उपभोक्ता ठग्ने व्यापारीको निद्रा हराएको छ भने् उपभोक्ता भने सरकार भएको अनुभूति गर्दै खुसी देखिएका छन् ।

बाँके प्रशासनले जिल्लाका विभिन्न क्षेत्रका बजारमा दैनिक रुपमा सशक्त अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत कार्य गरी उपभोक्ता ठगी गर्दै आएका व्यापारीहरुलाई कानून बमोजिम कारबाही समेत प्रशासनले गरेको छ ।

दैनिक अनुगमनको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायसहितको अनुगमन टोलिले बिहीबार नेपालगन्जका विभिन्न माछा तथा मासु विक्री गर्ने पसलहरुको अनुगमन गरेको छ ।

नेपालगन्जको जमुनाह र धम्बोझी बजारक्षेत्र आसपासका विभिन्न नौं वटा माछा तथा मासु पसल अनुगमन गर्दा छ वटा पसलले उपभोक्तालाई ठगी गरेको पाइएपछि तिनीहरुलाई कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

मो. सरिफ फ्रेश हाउसले बिल बिजक बिना कारोबार गरेको पाइएकाले तत्काल कारबाही स्वरुप २० हजार रुपियाँ जरीवाना गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उक्त पसलबाट खसीको मासु ७ किलो र कुखुराको मासु ३.८ किलो खान अयोग्य रहेको पाइएकाले जफत गरि नष्ट गरिएको थियो ।

प्रजिअ पोखरेलका अनुसार अल्लाह विष्मिल्लाह फ्रेश हाउसले पनि बिल बिजक बिना कारोबार गरेको पाइएकाले १० हजार रुपियाँ जरीवाना गरिएको थियो ।

सुफियाना फ्रेश हाउसबाट मङ्गुर माछा ३ किलो, कुखुराको मासु २.५ किलो र अन्य जातको माछा २९ किलो खान अयोग्य पाइएकाले जफत गरि नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेको पाइएकाले ५ हजार रुपियाँ जरीवाना गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

हाम्रो फ्रेश हाउसबाट पनि खसीको मासु ११ किलो र कुखुराको मासु ३.५ किलो खान अयोग्य रहेको पाइएकाले जफत गरि नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेकाले २० हजार रुपियाँ जरीवाना समेत गराइएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी जमुनाह बजार क्षेत्रमा खुल्ला रुपमा सडक पेटीमा माछा बेचिरहेका दुई जना विक्रेताले अनुगमन टोलिलाई देखेर भागी फरार भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । विक्री स्थलबाट ३५ किलो माछा बरामद गरि नष्ट गरिएको थियो । सो स्थानबाट ८ हजार २ सय ८० रुपियाँ नगद, नोकिया मोबाइल एक थान, माछा काट्ने औजार र ढक तराजु दुई थान बरामद गरी मुचुल्कासहित स्थानीय जमुनाह प्रहरीलाई बुझाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

कुनै पनि बहानामा उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरी उपभोक्ता ठग्ने जो कोहीलाई पनि कानून अनुसार कारबाहीको दायरामा ल्याईने र उपभोक्ताको हित अनुसार काम गर्ने गरी दैनिक रुपमा प्रशासनको नेतृत्वमा सरोकारवाला निकायको सहभागितमा बजार अनुगमनलाई तिब्र रुपमा निरन्तरता दिईने प्रजिअ पोखरेलले बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार ११:४०

लोकप्रिय