तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त छिन् । आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पुर्खौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले बताइन् ।
खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पालेकी छन् । मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उनले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताइन् । डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उनले सुनाइन् ।
फुलमायाले भनिन् ‘हामीले पूर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ । महिलाले डालो, सोली बुन्छौँ । पुरुषले ठूलो भकारी बुन्छन् । हामीले बुन्ने बाँसका सामग्री चाहीँ छोरा मान्छेले बुन्दैनन् ।’ यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुर्याउने गरिएको उनले बताइन् ।
रू २०० घनमा बाँस किनेर सामग्री बनाउँदै आएको फुलमायाले जानकारी दिइन् । ‘ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ । बाँसको घनअनुसार सामान बनाउने हो,’ उनले भनिन् ।
फुलमायाका अनुसार रू १२० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ । यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताए ।
‘पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन् । तुलनात्मक रुपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ,’ उनले भने, ‘हामीले ठूला सामान बनाउछौं । महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ ।’
बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ । उनका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
परम्परागत तथा पूर्खौली पेसा र सीपको विकास भने गर्न सकेको पाइँदैन । पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै सङ्कटमा पर्ने अवस्था आएको छ । बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवद्र्धन गर्न नसक्दा स्थानीयवासी मारमा पर्ने गरेका छन् ।
बजारमा रू पाँच–सात सयमा बिक्री हुने सामग्री स्थानीयवासीले बढी समय र मेहनत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ । किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पुर्खौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरुको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । तनहुँ