सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा बजार अनुगमन निरन्तर

 नेपालगन्जमा बजार अनुगमनलाई निरन्तरताका दिइएको छ ।

पहिले चाडबाडमा मात्र हुने बजार अनुगमन पछिल्लो समयमा बाँकेका प्रमुख जिल्ला अधिकारीका रुपमा श्रवणकुमार पोखरेल आइसकेपछि दैनिकजसो बजार अनुगमन हुँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा विभिन्न सरोकारवाला कार्यालय तथा सङ्घ संस्थाहरुको सहभागितामा नेपालगन्जमा दैनिक रुपमा बजार अनुगमन हुँदै आएको हो । बजार अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत काम गर्ने विभिन्न पसल, फर्म लगायतलाई सचेत गराइनुका साथै कारबाही गरिंदै आएको छ ।

केहिदिन अघिमात्र सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको सहभागितामा गरिएको बजार अनुगमनमा विभिन्न किराना पसललाई कारबाही गरिएको बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा नेपालगन्जमा रहेको दीक्षा किराना पसलमा भेटिएको करिब २५ हजार रुपियाँ बराबरको अवैध बिंडी तथा सुर्तीजन्य पदार्थलाई जफत गरी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पठाइएको छ ।

त्यसैगरी खरिद तथा जारी गरिएको बिल बिजक नभएको, लेबल समेत नभएको २० हजार रुपियाँ बराबरको ६ कार्टुन अन्नपूर्ण बियर पनि जफत गरि आन्तरिक राजस्व कार्यालय पठाइएको प्रजिअ पोखरेले जानकारी दिनुभयो । उक्त पसललाई बिल बिजक बिना नै कारोबार गरेको पाइएकाले कारबाहीस्वरुप २० हजार रुपियाँ जरिवाना गरिएको उहाँले बताउनुभयो ।

प्रजिल पोखरेलका अनुसार न्यू सुगम किराना पसलमा चार हजार ८ सय ५० रुपियाँ बराबरको अवैध सुर्ती बरामद गरी आन्तरिक राजस्व कार्यालय पठाइएको र बिल बिजक जारी गरेको नपाइएकाले १० हजार रुपियाँ जरिवाना गरी कारबाही गरिएको छ ।

लक्ष्मी किराना तथा खाद्य पसलमा तीन हजार ८ सय रुपियाँ बराबरको अवैध सुर्ती बरामद गरिएको तथा अन्य सानातिना खुद्रा पसलहरुबाट पनि करिब पाँच हजार ७ सय रुपियाँ बराबरको सुर्तीजन्य पदार्थ जफत गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा पठाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

अनुगमन टोलीले नेपालगन्जको फुलटेक्रा बजार क्षेत्रका केही पसलहरुबाट तीन हजार बराबरको अवैध सुर्तीजन्य पदार्थ जफत गरी नष्ट गरेको छ । रिसु प्रोविजन स्टोरबाट ५ हजार बराबरको सुर्ती जफत गरिएको छ ।

बि एण्ड ट्रेडर्सले बिल बिजक जारी नगरी कारोबार गरेको पाइएकोले २० हजार रुपियाँ जरिवाना गरी कारबाही गरिएको छ भने चामलको शुद्धता परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा नमुना सङ्कलन गरिएको अनुगमन टोलीले जनाएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १३:४६

लोकप्रिय