पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यस क्षेत्रका किसानलाई वरदान साबित भएको छ । वि.सं.२०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि वरदान साबित भएको हो ।
कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफूल पनि भण्डारण गर्ने गरिएको छ ।
“भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौँ, भक्तपुर, नारायणघाट, हेटौडासम्म लैजानुपर्ने बाध्यता थियो”, अध्यक्ष भट्टराईले भन्नुभयो, “बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो ।
अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन ।” शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका-२ सीतापुरका किसान गेहेन्द्र धितालले बताउनुभयो ।
“शीत भण्डारले आलुको बीउ जोगाइ दिएर किसानलाई वरदान साबित भएको छ”, उहाँले भन्नुभयो, “यसअघि बीउ जोगाउन काठमाडौँ, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो ।” यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन् । शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताउनुभयो ।
“विशेष गरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ”, उहाँले भन्नुभयो, “पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठुलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गर्नुभयो । वि.सं.२०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब छ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया सुरु गरी २०६५ फागुनदेखि भण्डारणको काम सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष भट्टराईका अनुसार सहकारीमा तीन हजार सात सय १४ शेयर सदस्य छन् । कूल शेयर पुँजी ९७ लाख ४९ हजार पाँच सय रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्युठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उहाँको भनाइ थियो ।
“अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ ।” जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भइरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उहाँको भनाइ थियो ।
आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
बाँके क्षेत्र-१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताउनुभयो । कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसद्मा पहल गर्ने उहाँको भनाइ थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके