सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा चार महिनामा ५२ क्षयरोगी भेटिए

बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ । सो पालिकामा गत चार महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन् ।

१५ वटा वडा रहेको कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षको चार महिनामा ती क्षयरोगका बिरामी फेला परेका हुन् । गत साउन, भदौ, असोज र कात्तिक महिनामा यी बिरामी फेला परेका छन् ।

कोहलपुर नगरपालिकाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले गत आर्थिक वर्षमा कोहलपुरमा १८९ जना क्षयरोगका बिरामी फेला परेकोमा तीन जनाको मृत्यु भएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको चार महिनामा ५२ जना बिरामी फेला परेकोमा एक जनाको मृत्यु भएको बताउनुभयो । कोहलपुर नगरपालिकाले पालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि विशेष अभियानका साथ क्षयरोगविरुद्ध कार्यक्रम सञ्चालन गर्दैआएको जनाउँदै कार्यक्रम संयोजक केसीले सो कार्य सोचेजस्तो सहज नभएको बताउनुभयो ।

गत आर्थिक वर्षमा चार वटा ठाउँमा मात्र डट्स सेवा सञ्चालन भएकोमा चालू आर्थिक वर्षबाट भने सबै वडाका स्वास्थ्य संस्था र नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट पनि यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानु पर्ने, घर बाहिर कतै जानु पर्दा औषधि लिएर जानु पर्ने, पोषिलो खानेकुरा खानुपर्नेजस्ता कुरामा राम्ररी परामर्श, स्वास्थ्य प्रवर्धन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रोगीहरुलाई औषधि सेवन गराउने गरिएको पनि जनाइएको छ । चिकित्सकका अनुसार नियमितरुपमा बीचमा नछुटाइ ६ देखि ८–९ महिनासम्म औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।

यसैविच नगरपालिकाले पालिकाभित्रका गरिव र विपन्न समुदायका २३ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरेको छ । नगरपालिकाका अनुसार चामल २० किलो, दाल दुई किलो, तेल एक लिटर, बदाम साढे एक किलो, अण्डा एक क्यारेट र सर्वोत्तम पिठो एक किलो गरी तीन हजार मूल्य बराबरको पोषण सामग्री वितरण गरिएको हो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १ पुष २०८०, आइतवार ०९:३८

लोकप्रिय