सूचनाको शक्ति - The Power Of Information

        

कस्तो छ आज काठमाडौँको मौसम र तापक्रम?

यतिबेला (आइतबार बिहान) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा अहिले हुस्सु पनि लागिरहेको छ। ‘तर बिहानको भन्दा यो पातलो हुँदै गएको छ’, उनले भने, ‘घामसँगै हुस्सु क्रमिक रूपमा हट्दै जानेछ।’ उनका अनुसार अहिले काठमाडौँ उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) ३५ सय मिटर छ।

उनका अनुसार आज दिउँसो पनि काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली रहने अनुमान छ। आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाशमा बादल रहनु हो। ‘जे होस् आज दिउँसो घाम लाग्छ’, मौसमविद् अधिकारीले भने, ‘बादलले घामलाई छेक्न सक्दैन।’

बिहान ६:४५ को मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको जानकारी पनि उनले दिए।  ‘तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे प्रकाशन हुन्छ’, मौसमविद् अधिकारीले भने, ‘अहिलेको भन्दा थोरै घट्ला कि?’

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको उनले बताए।

प्रकाशित मिति : १ पुष २०८०, आइतवार ०९:३१

लोकप्रिय