सूचनाको शक्ति - The Power Of Information

        

१३ वर्षपछि घर फर्कियो बेनी आक्रमणको साक्षी

बेनी आक्रमणको साक्षीको रुपमा रहेको बिजुलीको पोल (खम्बा) १३ वर्षपछि पुनः बेनी नगरपालिका फर्किएको छ । २०६० साल चैत ३ गते तत्कालीन विद्रोही नेकपा माओवादी केन्द्र र नेपाली सेनाबीच बेनीमा भिडन्ता हुँदा एउटा पोल क्षतविच्छेद भएको थियो ।

उक्त भिडन्तको साक्षीको रुपमा रहेको पोललाई ललितपुरबाट गत बिहीबार बेनी लगिएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले ललितपुरको मदन पुरस्कार पुस्तकालयमा राखिएको उक्त पोल बेनी नगरपालिकामा ल्याइएको जानकारी दिए ।

युद्धको साक्षीका रुपमा रहेको पोल मदन पुरस्कार पुस्तकालयले २०६७ असोज २१ गते बेनीबाट ललितपुरको पाटनढोका लगेको थियो । युद्धको इतिहासका रुपमा रहेको पोल संरक्षणका लागि ललितपुर लगिएपछि नगरपालिकाले नै संरक्षण गर्ने गरी ल्याइएएको उनको भनाई छ ।

‘पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले नगरपालिकाले संरक्षणको योजना बनाएर ग्यारेन्टी गरेपछि फिर्ता पठाउछौँ भन्नुभएको थियो । उहाँले भनेजस्तै गरी हामीले योजना बनाएर फिर्ता ल्याएका हौँ,’ उनले भने ।

मेयर केसीका अनुसार पालिकाले उक्त पोल संरक्षणका लागि चालू आर्थिक वर्ष १२ लाख रुपैयाँ बजेट नै विनियोजन गरेको छ । उक्त पोल बेनीमा राखिसकेपछि मात्र औपचारिक रुपमा हस्तान्तरण हुने उनले बताए ।

उनले बेनी भिडन्तको समयमा सो पोल जहाँ थियो अब सो छियाछिया भएको पोल पनि सोको नजिकै राखिने योजना रहेको जानकारी दिए । बेनीका स्थानीयहरुले युद्धका अवशेषहरू हराउँदै जान थालेको तथा साक्षीका रुपमा रहेको पोल समेत बीना जानकारी ललितपुर लगिएको भन्दै फर्काउनुपर्ने माग राख्दै आएका थिए ।

स्थानीयको आग्रह अनुसार केसीले नगरपालिकाको नेतृत्वमा निर्वाचित भएलगत्तै पोल फिर्ताका लागि पहल सुरु गरेका थिए । उनकै अगुवाईमा १३ वर्षपछि युद्धको साक्षीका रुपमा रहेको पोल तत्कालीन सेनाको ब्यारेक (अहिले बेनी नगरपालिका रहेको स्थान नजिक) नजिकै ल्याइएको हो ।

नगरपालिकाले पोलको संरक्षणसँगै युद्ध भएको स्थानमा शान्तिपार्क निर्माणको काम समेत अगाडी बढाएको छ । मेयर केसीले सेनाको ब्यारेक रहेको स्थानमा रहेको पुरानो बंकरको मर्मत गरेर तल्लो भागमा लाइटिङ जडान गरेर लडाइमा जनता लेखिएको फोटो राखिएको जानकारी दिए ।

‘हामीसँग लडाइमा जनता लेखिएको केही फोटाहरु छन्, बंकरको तल्लो भागमा उक्त फोटो राख्ने र माथिल्लो भागमा आल्मुनियमको घर बनाएर युद्धको सम्झना झल्काउने भिडियो राख्ने हाम्रो योजना छ । बेनी आक्रमणका पीडितको घाउँ बल्झाउने नभएर द्धन्द्ध कम गर्न मद्धत पुग्ने खालका भिडियोहरु साँझ प्रदर्शन गर्ने हाम्रो तयारी हो,’ मेयर केसीले भने ।

उनले उक्त बंकर नजिकै पोलको संरक्षण गर्ने र शान्तिपार्क स्थापनाको योजना रहेको बताए । बेनी आक्रमणमा परेर निधन भएका सबैको सम्झनामा पार्कमा उनीहरुको फोटो राखिने भएको छ । फोटोसँगै जन्ममिति र मृत्यु भएको मिति लेखेर स्मरणका लागि राखिने उनको भनाइ छ ।

मेयर केसीका अनुसार आक्रमणमा परेर मृत्यु भएका तत्कालीन सेनाका १४ जना, नेपाल प्रहरीका २१ जना, स्थानीय १९ जना माओवादी पक्षका ११८ जनाको ज्यान गएको थियो । शान्तिपार्कमा यी सबैको सम्झना गरिने भएको छ । पालिकाले पोलको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको जनाएको छ ।

‘द्वन्दकालको अवशेष ‘बेनिको खम्बा’को बेनी पुनरागमन हुँदैछ आज । संरक्षण र प्रदर्शन योजनाको लागि बेनी नगरपालिकालाई धन्यवाद । २१ आसोज २०६७ देखि १३ वर्ष सुरक्षित राखिदिएकोमा मदन पुरस्कार पुस्तकालय र यलमाया केन्द्रका सहयोगीहरुलाई पनि धन्यवाद’ पुस्तकालयका अध्यक्ष दीक्षितले गत बिहीबार सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।

प्रकाशित मिति : १ पुष २०८०, आइतवार ०८:०२

लोकप्रिय