सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बैतडीका पाँच स्थानीय निकाय प्रशासन प्रमुख नहुँदा सेवा प्रवाह गर्न असमर्थ देखिएका छन् । प्रशासनको नेतृत्व नहुँदा स्थानीय निकायले दिने नियमित सेवा अवरुद्ध भएकाले गाउँ र नगरपालिकाहरुका प्राय कामहरु ठप्प जस्तै भएको स्थानीय प्रतिनिधिहरु बताउँछन् ।
स्थानीय सरकार आएको ६ बर्ष बिते पनि कर्मचारी व्यवस्थापन र स्थीरता नहुँदा विकासले गति पाउन सकेको छैन । स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत पाउँनै मुस्किल हुने, सरुवा भएर आएकाहरु समेत लामो समयसम्म टिक्न नसक्दा बैतडीका पाँच पालिकाहरु अहिले पनि प्रशासकीय अधिकृतविहिन बनेका छन् ।
बैतडीमा प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन् । सामान्यतया कर्मचारी एकदेखि दुई वर्ष एउटै क्षेत्रमा बस्नुपर्ने हो । स्थानीय सरकारलाई मजबुद र सञ्चालनको लागि कर्मचारीको सहयोग हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको सरुवा चाँडो चाँडो हुँदा जनताले सेवा अनुभूति गर्न नसकेको बैतडीका स्थानीयहरुले बताउने गरेका छन् ।
योजना तथा कार्यक्रम कार्यान्वयन, आर्थिक कारोवार र प्रशासन सञ्चालनमा नेतृत्वदायी भूमिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नै गरिरहेका छन् । तर जनप्रतिनिधिले भने केही गर्न सकिरहेका छैनन् । बैतडीका पाँच ओटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा समस्या भएको छ ।
पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको हो । दुर्गममा गएर काम गर्न नचाहने कर्मचारीको प्रवृत्तिले विकासमा अवरोध त भइरहेको छ नै जनप्रतिनिधिहरुको समेत गुनासो बढ्दै गएको छ ।
बैतडी जिल्लाका १० वटा स्थानीय तहमा यो बर्षको अवधिमा मात्रै एकदर्जन प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन् । सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई जिम्मेवारी दिएको भए पनि एकै जनाले तीन पालिकामा काम गर्न समस्या भइरहेको बताइएको छ ।
फेरिएका कतिपय प्रशासकीय अधिकृत कर्मचारीहरु सम्बन्धित पालिका नपुगेरै बाटोबाटै सरुवा भएर हिँडेका छन् । कतिपय स्थानीय तहमा हाजिर भएको एक दुई महिनामै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएका छन् । कर्मचारी पालिका क्षेत्रमा नपुग्दा दैनिक कामकाजमा समेत समस्या भएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाशले बताए ।
स्थानीय सरकार चलाउनुपर्ने ठाउँमा कर्मचारी नहुँदा योजना कार्यान्वयनमा जहिल्यै ढिलो हुने गरेको अध्यक्ष जोशीको भनाई छ । डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका रञ्जय पटेलको हाजिर भएको ८ दिनमै मन्त्रालयले सरुवा गरेको थियो । गत असोज ८ गते पालिकामा हाजिर भएका पटेलको असोज १६ मै सरुवा भएको थियो ।
त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएको छ । यस्तै पुर्चौंडी नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन छ । गत असोज २५ गते प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएपछि अहिले सम्म मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन् । यस्तै सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् ।
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले नै सिगास पनि हेरीरहेका छन् । उनले तीनओटा पालिकाको जिम्मेवारी पाएकाले समस्या भइरहेको छ । जिल्लाको मेलौली नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीलाई दुई महिनाको जिम्मेवारी दिएकोमा यही मंसिर १७ गते उनको जिम्मेवारी सकिएको थियो ।
त्यसयता मन्त्रालयले कसैलाई जिम्मेवारी पनि तोकेको छैन् भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि पठाएको छैन् । यस्तै, जिल्लाको दोगडाकेदार गाउँपालिका पनि तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । दोगडाकेदार गाउँपालिकामा गत भदौ १८ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको पनि तीन महिनामै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएको हो ।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको बैतडीका स्थानीय तहहरुले जानकारी दिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बैतडी