सूचनाको शक्ति - The Power Of Information

        

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?

निद्रा हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ । सबै मानिसहरू हरेक दिन ७ देखि ८ घण्टा सुत्नुपर्छ । यसो नगर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । जब हामी सुत्छौँ, हाम्रो शरीर र मस्तिष्क रिकभरी मोडमा हुन्छ । यसले हामीलाई अर्को दिनको लागि नयाँ ऊर्जा दिन्छ र शारीरिक र मानसिक कार्य सम्पादनमा सुधार गर्छ ।

पर्याप्त निन्द्रा नहुनुले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ र मानिसको ऊर्जा स्तर, मानसिक अवस्था, एकाग्रता र सोच्ने क्षमतालाई असर गर्छ । यही कारणले गर्दा खानाजस्तै निद्रा पनि स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण मानिन्छ । धेरैजसोको मनमा एउटा प्रश्न उठ्छ कि यदि मानिस १० दिन वा २० दिन सुतेन भने के हुन्छ ? के यसो गर्दा मृत्यु हुन सक्छ ?

यो प्रश्न तपाईंको दिमागमा कुनै न कुनै बेला आएको हुनुपर्छ । विज्ञहरूलाई उद्धृत गर्दै हेल्थलाइनको प्रतिवेदनमा एक दिन पनि नसुत्दा स्वास्थ्यमा ठुलो असर पर्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा यदि व्यक्ति एक हप्तासम्म सुत्दैन भने उसको अवस्था निकै खराब हुन सक्छ । लामो समयसम्म निन्द्रा नलाग्दा सोच्ने र बुझ्ने क्षमतामा ह्रास आउन सक्छ र शारीरिक तथा मानसिक कार्यसम्पादन बिग्रन्छ ।

यसले सबै अंगलाई असर गर्छ । निद्राको मुटु, मस्तिष्क र रक्तचाप लगायतका सबै अंगहरूसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । निद्राको कमीले मुटु रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना लगायतका धेरै गम्भीर रोगको जोखिम बढाउँछ । यस्तो अवस्थामा मानिसलाई लामो समयसम्म निद्रा लागेन भने यसको कारणले ज्यान समेत जान सक्छ । तर, कति दिनसम्म सुत्न नसक्दा मानिसको ज्यान जान सक्छ भन्न गाह्रो छ ।

यस सम्बन्धमा धेरै प्रयोगहरू भइसकेका छन्, तर यो रहस्य अझै सुल्झिएको छैन । साइन्टिफिक अमेरिकनको रिपोर्ट अनुसार सन् १९६५ मा १७ वर्षीय विद्यार्थी र्‍यान्डी गार्डनरले विज्ञान मेलामा २६४ घण्टा अर्थात् करिब ११ दिनसम्म नसुतेर लगातार जागेर विश्व कीर्तिमान बनाएका थिए । धेरै अन्य अनुसन्धानहरूले पनि मानिसहरू ८ देखि १० दिनसम्म लगातार जागा रहने नतिजाहरू पत्ता लगाएका छन् ।

अमेरिकाको शिकागो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसबारे मुसामा अध्ययन गरेका थिए । लगातार २ हप्ता वा सोभन्दा बढी समयसम्म निद्रा नपुग्दा मुसा मरेको पाइएको थियो । यी मुसाहरूमा पनि मृत्युको सही कारण प्रमाणित हुन सकेको छैन । यो शरीरको हाइपर मेटाबोलिज्मसँग सम्बन्धित विषय थियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ०८:५२

लोकप्रिय