सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाबारे छलफल

नेपालगन्जमा आज विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाका विषयमा छलफल गरिएको छ ।

नेपालगन्ज क्षेत्रका व्यवसायीहरु सहभागी कार्यक्रममा भूकम्प लगायतका विपदमा निजी क्षेत्रले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको चर्चा गरिएको छ ।

नेपालगन्ज पश्चिम क्षेत्रको हब र ट्रान्जिट प्वाइन्ट भएकाले विपद प्रतिकार्यमा निजी क्षेत्रको भूमिका सधैं अपरिहार्य हुने भन्दै नेपालगन्ज आफैं पनि सुरक्षित हुनुपर्नेमा जोड दिइएको छ ।

आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले पश्चिम नेपालमा भूकम्पको जोखिम, अन्य सम्भावित विपद, पूर्व तयारी, प्रतिकार्य र यो प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा सहजीकरण गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका बारुणयन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले नेपालगन्जमा आगलागीको जोखिम, आगलागीका घटना र नियन्त्रणका लागि भएका प्रयास तथा पूर्व तयारीबारे जानकारी गराएका थिए ।

कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास संयोजक वसन्त कनौजियाले विपदमा खोज, उद्दार र राहत व्यवस्थापनमा निजी क्षेत्रले विगतदेखि नै सहयोग र सहकार्य गर्दै आएको स्मरण गरे ।

विपद प्रतिकार्यमा सहयोगी भावना, सहभागिता, निगरानी र मूल्यांकन हुन सके निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुने बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका विपद संयोजक टीकामणि उपाध्यायले व्यवसायीहरु विपदमा सधैं हातेमालो गर्न तत्पर रहेको बताए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ ।

सुपरले विपद विरुद्ध जुध्न दक्ष जनशक्ति समेत उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १६:३३

लोकप्रिय