सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ९५ जनाले लिए स्थायी बन्ध्याकरणको सेवा

स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ९५ जना नागरिकले सेवा लिएका छन् ।

गत मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको विभिन्न ७ वटा घुम्ती शिविरबाट ९५ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

बिहिबार बाँकेको खजुरा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १८ महिला गरी १९ जनाले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको उहाँले बताउनुभयो ।

यसअघि गङ्गापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा तीन पुरुष र आठ महिला गरी ११ जना, राप्तीसोनारी ६ कमैयाडाँडामा सञ्चालन गरिएको शिविरमा एक पुरुष र १५ महिला गरी १६ जना, राप्तीसोनारी ४ स्थित राप्तीसोनारी अस्पताल बैजापुरमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १४ जना महिला गरी १५ जना नागरिकले स्थायी बन्ध्याकणको सेवा लिनुभएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, डुडुवा २ बेतहनी स्वास्थ्य चौकीको शिविरमा सात जना महिला, कोहलपुर नगर अस्पतालको शिविरमा दुई पुरुष र १८ महिला गरी २० जना र बैजनाथ गाउँपालिकाको नौबस्ता स्वास्थ्य चौकीको शिविरमा पाँच महिला र दुई पुरुष गरी सात जना गरी कुल ९५ जना नागरिकले स्थायी बन्ध्याकणको सेवा लिनुभएको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार जिल्लामा सञ्चालन गरिएको घुम्ती शिविरमा हालसम्म ८५ जना महिला र १० जना पुरुषले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको हो । उहाँका अनुसार ३० गते बेलभार स्वास्थ्य चौकी र पुस २ गते नेपाल परिवार नियोजन सङ्घ बाँकेमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालयले गत मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको छ।

स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १५:४०

लोकप्रिय